सर्लाही — सर्लाहीको बलरामा डुबेको अवस्थामा थप एक शव फेला परेको छ । चार दिनदेखि बेपत्ता बलरा नगरपालिका–१ हथियौलका २७ वर्षीय पवन गिरीको शव मंगलबार फेला परेको हो ।
गिरीको शव बलरा–३ लक्ष्मीपुरस्थित नेपाल–भारत सीमाको दशगजा छेउमा रहेको सीताराम पण्डितको उखुबारीबाट फेला परेको प्रहरीले जनाएको छ ।
पानीमा डुबेको अवस्थामा गिरीको शव स्थानीयले फेला पारेका थिए । प्रहरीकाअनुसार गिरी बा.२७ प.९२०८ नम्बरको मोटरसाइकलमा गत शुक्रबार साँझ साढे ६ बजेतिर भारतको बसबिट्टा बजार जान्छु भनि हिँडेको र त्यसपश्चात् सम्पर्कविहीन भएका थिए ।
भारतबाट फर्किने क्रममा वाग्मती नदीमा आएको बाढी गाउँ पसेपछि उनी डुबेको हुनसक्ने अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा ल्याइएको छ ।
यस्तै गत शनिबार सोतीखोलामा बाढीमा परेर बेपत्ता भएका वाग्मती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतोको शव पनि फेला परेको छ । उनको कुहीसकेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । सर्लाहीमा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला प्रशासनको तथ्यांक छ ।
सोमबार पनि डुबेको अवस्थामा बलराबाट एक बालकको शव निकालिएको थियो ।
