बेरुजु फर्स्योट गराउन मधेशका मुख्यमन्त्रीलाई लेखा समितिको निर्देशन

आश्विन १०, २०८१

सन्तोष सिंह

Accounts Committee's instructions to the Chief Minister of Madhesh to make a beruju fursyot

धनुषा — मधेश प्रदेशको सार्वजनिक लेखा संसदीय समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई सबै मन्त्रालयका बेरूजु फर्स्योट गराउन निर्देशन दिएको छ ।

लेखा समितिको बैठकमा बिहीबार मुख्यमन्त्री सिंहलाई बोलाएर बेरुजु फर्स्योट र नियन्त्रण सम्बन्धमा विशेष छलफल भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद उपेन्द्र महतोले बताए । 'एकै किसिमको सैद्धान्तिक बेरूजु हरेक वर्ष दोहोरिएकोले सरकारलाई गम्भीर हुन आग्रह गर्‍यो,' सांसद महतोले भने,‘मधेश प्रदेशमा खर्च कम हुने गरेको र चालु आर्थिक वर्षका योजनाहरू पनि हालसम्म कार्यान्वयनमा नगएको विषयमा मुख्यमन्त्रीसँग समितिले चासो राख्यो ।’ 

समिति बैठकमा सम्बन्धित मन्त्रालयहरूका सचिवलगायत कर्मचारी बोलाउँदा गैरजिम्मेवार जवाफ दिने गरेको र सचिवहरुले आफू नयाँ रहेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजिएकोले सचिवहरुलाई जिम्मेवार बनाउन मुख्यमन्त्रीलाई सुझाव दिइएको सांसद महतोले बताए ।

जवाफमा मुख्यमन्त्री सिंहले सबै सचिवलाई बोलाए बेरूजु फर्स्योट गर्न निर्देशन दिने प्रतिबद्धता जनाएको महतोले बताए । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully