जनकपुर — जनकपुरमा मुख्यालय रहेको राजर्षी जनक विश्वविद्यालयले १० वर्षे रणनीति बनाउन सुझाव संकलन थालेको छ । शैक्षिक गुणस्तरमा सुधार ल्याउँदै प्राविधिक शिक्षाको हव बनाउने योजनामा रहेको विश्वविद्यालयले सरोकारवालासँग राय–सुझाव लिइरहेको छ ।
जनकपुरमा मंगलबार आयोजित गोष्ठीमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादवले सरोकारवालाले दिएको सुझावकै आधारमा १० वर्षे रणनीति बनाइने जानकारी दिए । उनले राजर्षी जनक विश्वविद्यालयलाई प्राविधिक शिक्षाको हव बनाउने गरी सुझाव संकलन भइरहेको बताए । ‘हामी छिट्टै होटल म्यानेजमेन्ट र मास कम्युनिकेसनको पढाई सुरु गर्दैछौं,’ उपकुलपति यादवले भने, ‘विश्वविद्यालयमा प्राविधिक शिक्षाका अन्य कोर्षहरु पनि सुरु हुँदैछ ।’
विश्वविद्यालयका रजिष्टार सत्यनारायण साहले राजर्षी जनक विश्वविद्यालयलाई अगाडि बढाउन सबैको साथ, सहयोग आवश्यक रहेको बताए । उनले काठमाडौंमा रहेका जनकपुरका मानिसहरुसित पनि सुझाव लिइने जानकारी दिए ।
विश्वविद्यालयले प्रा. पुष्कर बज्राचार्य, प्रा.डा. महानन्द चालिसे र हरिप्रसाद उपाध्यायलाई विज्ञ तोकेर सुझाव संकलन गरिरहेको छ । गोष्ठीमा प्रा. बज्राचार्यले राजर्षी जनक विश्वविद्यालयलाई शास्त्रात गर्ने थलो बनाउनुपर्ने सुझाव दिए । उनले मधेशको शिक्षालाई गुणस्तरीय र बजारमा खपत हुनेखालका जनशक्ति उत्पादन गर्न राजर्षी जनक विश्वविद्यालयले काम गर्नुपर्ने बताए ।
राजर्षी जनक विश्वविद्यालयले समाजसेवी, विद्वत वर्ग, प्राध्यापक, कर्मचारी, विभिन्न शैक्षिक संगठन, दाता, चिकित्सक, विश्वविद्यालयका सभा सदस्य, दलका नेताहरु, बैंकका प्रतिनिधि, स्थानीय तहका प्रमुख र सञ्चारकर्मीहरुसित १० वर्षे रणनीति बनाउनका लागि सुझाव संकलन गरिसकेको छ ।
