किर्ते गरी व्यक्तिको नाममा दर्ता भएको चार बिघा जग्गा सरकारको नाममा फिर्ता

फाल्गुन १८, २०८०

भूषण यादव

Four bigha of land acquired and registered in the name of an individual is returned to the name of the government

वीरगन्ज — किर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको जग्गा पुनः सरकारको नाममा कायम भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–३ बिजबनीयामा रहेको करिब ४ बिघा सरकारी जग्गा किर्ते कागजात खडा गरी व्यक्तिको नाममा नामसारी भएको थियो ।

मालपोत कार्यालय पर्सामा उजुरी परेपछि प्रमाणसहितको कागजातको आधारमा बुधबार सो जग्गा नेपाल सरकारको नाममा फिर्ता भएको हो । 

साविकको बिजबनीया गाविस–२ स्थित नदी किनारको कित्ता नम्बर ६२ को तीन बिघा १८ कठ्ठा जग्गा किर्ते कागजातको आधारमा दुईजना व्यक्तिले आफ्नो नाममा नामसारी गराएका थिए । बहुदरमाई नगरपालिका– २ विश्रामपुर निवासी चन्द्रकली कुर्मीन र महेन्द्र प्रसाद गोढले सो सरकारी जग्गा आफ्नो नाममा दर्ता गराएका थिए ।

सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता भएको सूचना स्थानीयले गाउँपालिका कार्यालयमा दिएपछि पालिकाले प्रमाण संकलन गरी मालपोतमा पत्राचार गरेको थियो । गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले जग्गा सरकारको नाममा फिर्ता गराउन मालपोत कार्यालयलाई पत्राचार गरेका थिए ।

Four bigha of land acquired and registered in the name of an individual is returned to the name of the government

‘गाउँपालिका कार्यालयले प्रमाण सहितको कागजात मालपोतलाई उपलब्ध गराएको थियो,' जगरनाथपुर गाउँपालिका अध्यक्ष यादव भन्छन्, व्यक्तिको नाममा दर्ता भएको जग्गा पुनः सरकारको नाममा फिर्ता आएको छ ।’ 

मालपोतको मुद्दा फाँटको अनुसन्धानले सो जग्गा चन्द्रकली कुर्मीन र महेन्द्र प्रसाद गोढको नभएको ठहर गरेपछि उनीहरुको नाममा दर्ता गरिएको जग्गाको लालपुर्जा खारेज गरी नेपाल सरकारको नाममा लालपुर्जा बनाएको अध्यक्ष यादवले बताए । सो जग्गामा गाउँपालिकाले १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना रहेको यादवले बताए । यसका लागि छिट्टै निर्णय गरिने उनले जनाए । 

भूषण

Link copied successfully