विद्यापतिगढ र रौजा मजार- मधेश मन्थन - कान्तिपुर समाचार

विद्यापतिगढ र रौजा मजार

विद्यापतिका नामसँग जोडिएका दरबारको अवशेष (गढ), पोखरी, मठमन्दिर तथा अन्य पुराताफ्विक अवशेष मधेशका तीन स्थानमा छन् तर कुनचाहिँ आधिकारिक हो भन्ने विषयमा बृहत् अध्ययन हुन सकेको छैन
श्यामसुन्दर शशि

दिल्लीका सम्राट् गयासुद्दिन तुगलकले सन् १३२४ मा बाराको सिम्रौनगढस्थित तिरहुत (मिथिला) माथि विजय हासिल गरेपछि कर्णाटवंशीको शासन सुरु भयो । दिल्लीका अर्का सुल्तान फिरोज शाह तुगलकले प्रथम बंगाल आक्रमणबाट फर्किने बेला सनदपत्र जारी गरेर सन् १३५४ मा मिथिलाको शासनभार ओइनिवारवंशीय ब्राह्मण कामेश्वर ठाकुरलाई सुम्पे ।

यसरी दक्षिणी मिथिलामा ओइनिवार वंशको र अहिलेको नेपाल तराईमा अर्का द्रोणवारवंशी पुरादित्यको शासन स्थापित भयो । पुरादित्य पनि कर्णाटवंशी राजाहरूकै सन्तति भएको विभिन्न स्रोतग्रन्थमा उल्लेख छ ।

पुरादित्य र ओइनिवारवंशी अन्तिम राजा शिव सिंह असल मित्र थिए । बौद्धमार्गी पुरादित्यलाई सनातन हिन्दु बनाउने उद्देश्यले शिव सिंहले मित्रता गरेको रामदेव राय दनुवारले ‘दनुवार जातिको ऐतिहासिक रूपरेखा’ पुस्तकमा उल्लेख गरेका छन् । पुरादित्यको राजधानी बनौलीमा मैथिलीका महाकवि विद्यापतिले बाल सखा एवं मित्र शिव सिंहकी पत्नी रानी लखिमा र राजपरिवारका अन्य सदस्यसहित १२ वर्ष बिताएका थिए । उनले नेपाल प्रवासका क्रममा लिखनावली ग्रन्थ रचना गरेका थिए । श्रीमद्भगवद्गीताको प्रतिलिपिसँगै मैथिली भाषामा अनेक गीत पनि उनले रचना गरे । रानी लखिमासहित विस्थापित जीवन बिताउनुपरेका बेला महाकवि विद्यापतिले करुणरसको भावुक गीत रचना गरेका थिए ।

विद्यापतिले श्रीमद्भगवद्गीताको प्रतिलिपिको अन्त्यमा लेखेका छन्– ‘शुभमस्तु सर्वार्थगता संख्या ल.स. ३०९ श्रावण शुदि १५कु जै राजबनौली ग्रामेश्री विद्यापतेर्लिपिरियम् लक्ष्मण सेन संवत् ३०९ खृष्टाब्द १४१८ ई. ।’ महाकवि विद्यापतिले यहाँ उल्लेख गरेको राजबनौली ग्राम कुन हो ? यसबारे अझै विवाद छ । केहीले महोत्तरीको पिपरा गाउँपालिका–७ स्थित बनौलीलाई राजबनौली दाबी गर्छन् । केही सिरहाको लहानभन्दा पूर्वमा रहेको छपरारी नजिकको बाखर बनौलीलाई त केहीले सप्तरीको खाँडो खोला नजिकको बनौली हो भन्छन् । तीनवटै स्थानमा दरबारको अवशेष (गढ), विद्यापतिका नामसँग जोडिएका पोखरी, मठमन्दिर तथा अन्य पुरातात्त्विक अवशेष छन् । यसको बृहत् अध्ययन र उत्खनन हुन सकेको छैन ।

ओइनिवार वंशका अन्तिम राजा शिव सिंह सन् १४१४ मा जौनपुरका सुल्तानसँग भएको युद्धमा बेपत्ता भएका थिए । पछि महाकवि विद्यापतिले शिव सिंहकी धर्मपत्नी लखिमा रानी र राजपरिवारका अन्य सदस्यलाई साथ लिई पुरादित्यको दरबारमा शरण लिएका थिए । उनले पुरादित्यको आदेशअनुसार लिखनावलीको रचना गरेका थिए । लिखनावलीमा जनकपुरको चर्चा पनि छ ।

इतिहासकार वासुदेवलाल दासका अनुसार विद्यापतिकाल (सन् १३५०–१४५०) मा दक्षिणतर्फ ओइनिवार वंशीय राजाहरूको राज्य थियो । यस्तै उत्तर कमला नदीपूर्व सप्तरीमा द्रोणवार वंशीय पुरादित्यको तथा कमला पश्चिम महोत्तरीमा सिंहनारायणको राज्य थियो । २०१८ सालअघि सिरहा सप्तरीमा र धनुषा महोत्तरी जिल्लामा थिए । दासका अनुसार पुरादित्यका जेठा छोरा बल्लभ देवको विवाह सिंहनारायणकी जेठी छोरीसँग भएको थियो । सिंहनारायणले ज्वाइँलाई कमला पश्चिममा अवस्थित खरिहानी गाउँ (अचेल सबैला नगरपालिकामा पर्छ) बिर्ता दिएका थिए । जहाँ अझै पनि द्रोणवार वंशका मानिस बसोबास गर्छन् र उनीहरूलाई स्थानीय बासिन्दाले राजा भनेर सम्बोधन गर्छन् ।

लेखक रामदेव राय दनुवारले सिरहा जिल्लाको साबिक भवानीपुर वडा नम्बर ६ स्थित बाखर बनौली पुरादित्यको राजधानी भएको दाबी गरेका छन् । त्यहाँ अवस्थित उँभो लागेको ढिस्को (गढ), पोखरीहरूको भग्नावशेष, राजागढी ठाकुर र गढही बमभोला पोखरी एवं बौकी महारानीको मन्दिर आदिका आधारमा उनले यस्तो दाबी गरेका हुन् । यस क्षेत्रमा थारू र दनुवारहरूको उल्लेख्य जनसंख्या हुनु तथा उनीहरू आफूलाई द्रौणवारवंशी भएको दाबी गर्नुलाई पनि इतिहासकारहरूले दरिलो तर्कका रूपमा प्रस्तुत गरेका छन् ।

अर्कातर्फ ३ कट्ठामा फैलिएको माटोको ढिस्को (गढी), झन्डै चार बिघाको लखीसागर (हाल लक्ष्मीसागर), लखी घराडीको नामले चिनिने घडेरी जग्गा तथा पुरातन डिहवार स्थानको अवशेषका आधारमा महोत्तरीको बनौलीलाई केही इतिहासकारले पुरादित्यको राजधानी दाबी गर्दै आएका छन् । स्थानीय ७६ वर्षीय उदितनारायण झाका अनुसार लक्ष्मीसागरको पुरानो नाम लखीसागर शिव सिंहकी पत्नी लखिमा देवीका नाममा राखिएको हो ।

नाम अपभ्रंस हुँदै लक्षी र अचेल लक्ष्मीसागर हुन पुगेको हो । यसैगरी लखी घडेरीको पुरानो नाम लखिमा घडेरी रहेको तर्क उनको छ । आधुनिक मैथिली साहित्यका अग्रणी साहित्यकार धीरेश्वर झा ‘धीरेन्द्र’ नेतृत्वको एक टोलीले चार दशकअघि महोत्तरीको बनौलीस्थित विद्यापति डिहको स्थलगत निरीक्षण गरेको थियो । विद्यापतिले १२ वर्ष बिताएको स्थान यही हो भनेर उनले दाबी गरेका थिए ।

पुरादित्यको राजधानी भनिएको विद्यापति डिहको दक्षिण तथा लक्ष्मीसागरको डिलबाट पुरानो सडकको अवशेष पनि भेटिएको छ । जसलाई स्थानीयले पुरादित्य दरबारको सडक भन्छन् । मधेश प्रदेश सरकारले यस सडकलाई विद्यापति डिह मार्ग नामकरण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटको बुँदा नम्बर १०१ मा भनिएको छ– ‘बनौली विद्यापति डिहको पर्यटकीय तथा सांस्कृतिक विकासका लागि विद्यापतिको प्रतिमासहित प्रवेशद्वारदेखि एकरहिया, सहोरबा, विद्यापति डिह हुँदै मठिहानीसम्म विद्यापति डिह मार्ग बनाउने कार्यलाई अगाडि बढाउन २ करोड बजेट विनियोजन गरेको छु ।’ गत आर्थिक वर्षको बजेटमा पनि मधेश सरकारले महोत्तरीको विद्यापति डिह संरक्षण, विद्यापति पोखरीको सौन्दर्यीकरण, पुस्तकालय तथा संग्रहालय निर्माणका लागि झन्डै १३ करोड बजेट छुट्याइएको थियो ।

बौद्ध धर्मको प्रभाव क्रमशः शिथिल हुँदै गएको र दक्षिणमा मुसलमानी शासकहरूको फुर्तीफार्ती बढ्दै गएको समय सन् १३५० मा मैथिली भाषाका महाकवि विद्यापतिको जन्म भएको थियो । जातिपाती र देवीदेवताको अस्तित्व अस्वीकार गर्ने बौद्धमार्गीले समाजमा नयाँ वर्ग निर्माण गर्दै थिए । सामाजिक व्यवस्था अस्तव्यस्त बन्दै थियो ।

अर्कातिर मुसलमान शासकहरू देवीदेवताका प्रतिमा भाँच्ने अनि जबर्जस्ती धर्म परिवर्तन गराउने अभियानमा जुटेका थिए । सनातन हिन्दुहरू चारैतिरबाट दबाबमा थिए । समाज तीन ध्रुवमा विभाजित रहेका बेला महाकवि विद्यापतिले आफ्ना सुमधुर गीतमार्फत समाज जोड्ने अभियान चलाए । राधा–कृष्ण विषयक गीतमार्फत समाजमा प्रेमरस सञ्चार गरे । भक्ति रसका गीतहरूमार्फत सनातनीहरूमा हिन्दु धर्मप्रति विश्वास जगाए । कर दिन इन्कार गरेका ओइनिवारवंशीय राजकुमार शिव सिंहलाई दिल्ली नरेश नसरत शाह भन्ने नसिरुद्दिन महमुदले बन्दी बनाएर दिल्ली लगेका थिए ।

रौजा मजारको महत्त्व

मध्यकालीन समाज अस्तव्यस्त थियो । राजा रजौटाबीच युद्ध भइरहन्थ्यो । धार्मिक र सांस्कृतिक संक्रमण उत्कर्षमा थियो । तन्त्र–मन्त्र, जादुटुनामाथि दरिलो विश्वास थियो । सिद्धपुरुषहरू जंगल, गुफा र खोला किनारमा तपस्या गरेर बस्थे । यसै बेला हालको महोत्तरी जिल्लाको बलवा नगरपालिका–११ रौजा भन्ने स्थानमा हजरते गदा अली शाह नामका सिद्धपुरुष आइपुगे । उनीसँगै अन्य दुई सिद्धपुरुष थिए– रहमत अली शाह र बहार अली शाह । बाघ, सिंह, चितुवा र हात्तीजस्ता हिंस्रक जनावरहरूको बिगबिगी रहेको घना जंगलमा उनीहरूले डेरा जमाए । अनि आफ्ना सद्विचार र मानव सेवामार्फत केही दिनमै चर्चित भए । रौजा मजार सरिफमा यिनै तीन महापुरुषको मजार रहेको त्यहाँका मौलाना सौकत अलीको भनाइ छ । मधेश प्रदेशको राजधानी जनकपुरभन्दा १५ किलोमिटर पश्चिममा अवस्थित रौजा मजार सरिफ अचेल हिन्दु र मुसलमानहरूको संगम स्थल बनेको छ । त्यहाँ पूजा, दर्शन गर्न र बलि चढाउन दुवै थरी धर्मावलम्बी जाने गर्छन् । प्रत्येक वर्ष चैत ९ देखि ११ सम्म लाग्ने विशेष मेलामा नेपाल र भारतका लाखौं श्रद्धालु ओइरिन्छन् । मौलाना सौकत अलीका अनुसार मेला भर्न तथा मजारमा आशिष थाप्न भारतको कश्मीरदेखि पाकिस्तानसम्मका श्रद्धालु आउने गर्छन् । सोमबार, बुधबार र बिहीबार पनि घुइँचो हुन्छ । अन्य दिनमा पनि सयौं श्रद्धालु दर्शन गर्न तथा बलि चढाउन आउँछन् ।

असाध्य रोगबाट मुक्ति पाउने विश्वासमा झन्डै एक हजार जना परिवारसहित रौजा मजारको वरिपरि झुपडी बनाएर र नजिकका गाउँमा बसेका छन् । उनीहरू बिहान–बेलुका रौजा मजारमा दुवा (आशिष) थाप्ने गर्छन् । पछिल्लो समय एक जनाले उनीहरूलाई भाडामा लगाउन घर नै निर्माण गरेका छन् । घरीघरी बेहोस भइरहने लहान नगरपालिका, अमहीका १९ वर्षीय हरिकिसन महतो डेढ महिनादेखि मजारको उत्तरमा निर्मित भाडाको कोठामा बसेर बिहान–बेलुका दुवा थाप्दै छन् । हरिकिसनकै रेखदेखका लागि उनकी आमा र बहिनी पनि आएका छन् । रौजा मजार सरिफ विकास समितिका अध्यक्ष मोहम्मद सलिमका अनुसार बलि र दान पेटिकामा पर्ने रकम गरी मजारमा वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । त्यही आम्दानीबाट मजारको सरसफाइ, खानेपानी तथा कर्मचारीको तलब दिइन्छ । प्रत्येक वर्ष चैतमा लाग्ने तीनदिने जलसामा २० लाख रुपैयाँ जति खर्च हुने गरेको सलिमले जानकारी दिए ।

गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारले रौजा मजारको कार्यालय, पर्खाल, शौचालय, जनाजा (मुर्दा) घर, खानेपानीलगायत व्यवस्थापनका लागि १२ करोड विनियोजन गरेको थियो । त्ययसबाट धेरै काम भए पनि ठेकेदार मस्जिद निर्माण अधुरै छाडेर बेपत्ता भएको सलिमले जनाए ।

प्रकाशित : असार २५, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

महिला : आर्थिक स्वतन्त्रतामा आशाको दियो

मधेशका आर्थिक गतिविधिमा महिलाको संलग्नता बढेको छ तर उनीहरुको कामको गणना र सराहना कम छ
उषा झा

सन् १९९९ मा मैले लमजुङ क्याम्पसबाट राजीनामा दिएर प्याक्ट इन्टरनेसनलमा काम थालें । त्यो बेला प्याक्टले ‘महिलाको आर्थिक सशक्तीकरण’ कार्यक्रमअन्तर्गत २१ जिल्लाका १ लाख २५ हजार महिलासँग काम गर्थ्यो । हालको मधेश प्रदेशका आठ र तराईका अन्य जिल्ला पनि त्यो कार्यक्रमले समेटेको थियो ।

यी जिल्ला डुलिरहँदा मलाई त्यो बेला कस्तो लाग्यो भने मधेशमा बाटो, विद्यालय, व्यवस्था सबथोक उपलब्ध भए पनि त्यहाँका महिलाले तिनको उपयोग गर्न पाइरहेका वा सकिरहेका छैनन् । न त उनीहरू आर्थिक, सामाजिक रूपमा माथि उठ्न सकिरहेका छन् । यस्तो किन ? मैले जान्न खोजें । किन रहेछ भने मधेशका महिलाहरू चारैतिरबाट बाँधिएका हुँदा रहेछन् । सामाजिक–धार्मिक बन्धनले उनीहरूलाई कसेको हुँदो रहेछ ।

२०६८ सालको जनगणनाअनुसार १२/१३ प्रतिशत महिला मात्रै औपचारिक रोजगारीको क्षेत्रमा छन् । बाँकी सबै अनौपचारिक क्षेत्रमा छन् । मधेशका महिला शिक्षाको पहुँचमा छैनन् । ५३ प्रतिशत महिला विद्यालय नै नगएका रहेछन् । त्यो बेला महिलाहरू विद्यालय नजानु भनको तिनले कसैसँग अन्तर्क्रिया गर्न नपाउनु र आफैंमा सीमित रहनु हो । आर्थिक रूपमा ती महिलाको पहुँच नहुनु र घरमा समेत उनलाई कुनै कानुनी (मनमा लागेको बोल्ने, निर्णय लिने) अधिकार नहुनु हो । हिजो जो महिला विद्यालय गए वा सामुदायिक गतिविधिमा संलग्न रहे, तिनले आर्थिक स्वतन्त्रताको महत्त्व बुझे । र, आज तिनको अवस्था सुध्रिएको छ ।

तर, मधेशका धेरैजसो महिला त्यो बेला एउटा उत्पादन इकाइ (प्रोडक्सन युनिट) जस्तो भएर बसेका थिए । खाना पकाउनु, खुवाउनु, बच्चा जन्माउनु, श्रीमान्, छोराछोरी वा सासूससुराले जे भन्यो त्यही सुन्नु– महिलाको काम त्यति नै थियो । आर्थिक सशक्तीकरण, निर्णय लिने प्रक्रियामा महिलाको पहुँच, सामुदायिक स्तरमा संलग्न हुने त धेरै परका कुरा भए ।

त्यो अवस्था देखेपछि ‘के गर्न सकिएला’ भनेर छलफल गरियो । हामीले समूह बनाउने निर्णय गर्‍यौं । तर, समूहमा आउन पनि ती महिलालाई सकस पर्‍यो । कोही–कोही आए । आउन सक्नेले बिस्तारै कुराहरू बुझ्दै गए । त्यो बेलादेखि अहिलेसम्म पनि मधेशका महिलाहरू घरेलु हिंसाका सिकार छन् । उनीहरू आर्थिक रूपमा स्वतन्त्र नभएकाले परनिर्भर छन् । हातमा दुई पैसा भए मात्रै मान्छे स्वतन्त्र हुने हो । पछिल्ला तथ्यांकले मधेशका महिलाको आर्थिक स्वतन्त्रताका केही झिल्का देखाएको छ । आर्थिक गतिविधिमा महिलाहरूको संलग्नता बढेको छ । तर, समस्या के भने उनीहरूको कामको गणना र सराहना हुँदैन । अवैतनिक मजदुरका रूपमा उनीहरू काम गरिरहेका छन् । तसर्थ, उनीहरूको श्रम तथ्यांकमै आउन सकेको छैन । देशको कुल गार्हस्थ्य उत्पादनमा मधेशका महिलाको योगदानबारे यकिन तथ्यांक दिन गाह्रो छ । तर योगदान त छ । कृषिमा महिलाको भूमिका सम्मानयोग्य छ ।

अहिले आएर औपचारिक श्रममा पनि मधेशी महिलाको सहभागिता बढ्दै गएको छ । आन्तरिक बसाइँसराइ र वैदेशिक रोजगारीमा समेत मधेशी महिलाहरूको ‘मुभमेन्ट’ देखिन थालेको छ । उनीहरूले दुई पैसा कमाउन थालेका छन् । कतिपय महिलाले आफ्ना बेरोजगार श्रीमान्लाई रिक्सा र ठेला किनिदिएका छन्, फलफूल पसल थापिदिएका छन् । विकास–निर्माणका काममा मधेशका महिला सहभागी हुन थालेका छन् । शासन/प्रशासनमा पनि उनीहरूको उपस्थिति केही बढेको छ ।

हस्तकला, चित्रकलामा मधेशका महिलाको छुट्टै ऐतिहासिक पहिचान छ । यसलाई उनीहरूले आर्थिकोपार्जनको बाटो बनाउन सकेका छन् । तर पछिल्लो समय मिथिला चित्रकलामा गैरसरकारी संस्था घुसे । यसको प्रचारमा आईएनजीओहरू लागे । विदेशबाट सामान ल्याएर विदेशमै बिक्रीका लागि पठाउन थालियो । यसले गर्दा मिथिला चित्रकलाका कलाकारको मानसिकता नै विदेशलाई हेरेर कृति बनाउने भयो । डलरको भाउमा सामान बनाउने गरियो । १०/१२ वर्षसम्म त्यसले राम्रै गर्‍यो । थुप्रै महिलाको आर्थिक उन्नति भयो । तर, नेपाली बजारलाई लक्ष्य नगर्दा आन्तरिक बजारमा मिथिला चित्रकला सुलभ भएन । यसलाई सुलभ बनाएर आन्तरिक पर्यटनका लागि प्रयोगमा ल्याए अझै फाइदा हुन्छ ।

पारिवारिक सम्पत्ति व्यवस्थापनमा भने मधेशका १३/१४ प्रतिशत महिलाको मात्रै स्वामित्व छ । सरकारको नीति र कर छुटका कारण महिलाको नाममा जग्गा दर्ता गर्ने चलन बढेको छ, यसले गर्दा अचल सम्पत्तिमा महिलाको पहुँच बढेको देखिन्छ । सप्तरी, बारामा महिलाहरूले सहकारी संस्था चलाइरहेका छन् । राजमार्ग छेउका महिलाहरू आर्थिक रूपमा निकै सक्रिय छन् । बर्दिबासका महिलाहरू सहकारीमा, सिरहाका महिला केरा खेती र जनकपुरका महिला मिथिला चित्रकला एवं माछापालनका काममा लागेका छन् । सीमा क्षेत्रका महिला चाहिँ अझै माथि उठ्न सकेका छैनन् ।

प्रदेश सरकार र स्थानीय तहमा महिला उद्यमीलाई स्टार्टअप फन्ड दिने क्रम सुरु भएको छ । प्रदेश सरकारले छुटेका समुदायहरूको म्यापिङ (विवरण संकलन) गरेर उनीहरूका लागि रोजगारीको व्यवस्था गर्नुपर्छ । मधेशका महिलाहरू सहकारी, कृषि, माछापालन, तरकारी खेती, चुरापोते–पसल चलाउनेलगायत काममा बढी संलग्न छन् । ठूला औद्योगिक व्यवसाय सुरु गर्न नसके पनि उनीहरूले साना तथा घरेलु व्यवसाय राम्रैसँग चलाइरहेका छन् । सरकारले पनि साना बजारको प्रवर्द्धन गरिरहेको छ । यसले पक्कै सहज बनाएको छ । मधेशी महिलाका उत्पादनले बजार पाएका छन् ।

समग्रमा मैले हेर्दा अवस्था सुधि्रँदै गएको छ । औपचारिक क्षेत्रमा काम गर्ने महिलाको संख्या १२ प्रतिशतबाट बढेर अहिले १५ प्रतिशत पुगेको छ । यो मधेशका लागि ठूलो कुरा हो । निर्णय लिने ठाउँमा भने २/४ जना मात्रै महिला पुगेका छन् । शिक्षा, स्वास्थ्यमा पनि राम्रै हुँदै गएको छ । संघीयतापछि मधेशी महिलाको स्थिति, शिक्षामा पहुँच र सामुदायिक गतिविधिमा तिनको सहभागिता बढेको देख्छु ।

यी सबै हुनुमा तीनवटा कारण छन् । एक– संवैधानिक वा कानुनी व्यवस्था । दोस्रो– समुदायस्तरका कार्यक्रमले ल्याएको सचेतना । र, तेस्रो– शिक्षाको पहुँच । महिलाको आर्थिक उत्थानमा यिनले राम्रो भूमिका खेलेका छन् । तर, सामाजिक–सांस्कृतिक बन्धनले गर्दा अझै पनि मधेशका महिलाहरू खुम्चिन बाध्य छन् । मधेशका गरिब, दलित, मुस्लिम महिलाहरू अझै पिछडिएको र नाजुक अवस्थामा छन् । कुनै पनि सामूहिक क्रियाकलापमा उनीहरूको सहभागिता छैन ।

सीमा क्षेत्रका आदिवासी मधेशी महिलाहरूलाई अझै बढी चुनौती छ । उनीहरूलाई भारतले नेपाली र नेपालीले भारतीय भनेर व्यवहार गर्छन् । बुहारीका रूपमा नेपाल आएका महिलालाई भाषा, पहिचान, रोजगारी सबैथोकको समस्या छ । म आफैं पनि यसको भुक्तभोगी हुँ । भारतमा मेरो राम्रो जागिर थियो । बिहे गरेर यता आएपछि मैले पाँच वर्ष दैनिक ज्यालादारीमा काम गरें । यस्तो अन्यायमा सबै बुहारी परिरहेका छन् । हाम्रो योगदानभन्दा पनि हाम्रो माइती देश बढी हेरिन्छ । भाषा र प्रक्रियागत उल्झनले गर्दा धेरै महिला आर्थिक गतिविधिमा संलग्न हुन पाइरहेका छैनन् । भोजपुरी, मैथिली, हिन्दी, उर्दूलगायत भाषा बोल्ने महिलालाई सरकारी कार्यालयहरूमा समस्या पर्छ । उनीहरूले बुझ्ने भाषामा बुझाउने कर्मचारी हुँदैनन् । जुन महिलाका लागि कार्यक्रम छुट्याइएको छ, तिनै महिलाका लागि प्रक्रिया गाह्रो छ । चार सेट फारम भर्नु, यो कागज, त्यो कागज जुटाउनु उनीहरूका लागि सहज हुँदैन । महिलालाई सुविधा दिँदा, सुविधा दिने प्रक्रिया सहज बनाउनुपर्छ ।

महिलालाई माथि उठाउने तरिका भनेको उनीहरूको आर्थिक सशक्तीकरण नै हो । त्यसको सुरुवात शिक्षाबाट गरिनुपर्छ । महिला–पुरुष दुवैले राम्रो शिक्षा पाउनुपर्छ । निर्णय लिने प्रक्रिया र समुदायका क्रियाकलापमा महिलाको सहभागिता बढाउँदै लग्नुपर्छ । राष्ट्रसंघले ‘सस्टेनेबल डेभेलप्मेन्ट गोल’, लैंगिक र सामाजिक सहभागिताका कुरा, लिभ नो वान बिहाइन्डका कुरा गरिरहेको छ । तर, जसलाई अगाडि ल्याउनुपर्ने हो, उही पछाडि छुटेको छ । मधेशका आदिवासी, गरिब, दलित, सुकुम्बासी महिला छुटिरहेका छन् ।

छुटेका महिलाहरूबारे प्रदेश सरकारले विवरण बनाएर उनीहरूका लागि रोजगारीका विभिन्न ‘स्किम’ ल्याउनुपर्छ । पालिकाहरूले साना–साना क्रियाकलापमा महिलाहरूलाई संलग्न गराउने, विभेद भइरहेको छ भने त्यसविरुद्ध कदम चाल्ने गर्नुपर्छ ।

राष्ट्रिय योजना आयोगमा छँदा मधेश प्रदेशको सम्पर्क व्यक्ति म आफैं थिएँ । प्रदेशका १ सय ३६ वटा पालिकाका प्रमुखलाई महिला, जनजाति समुदायले पाउने अनुदान, समपूरक अनुदान तथा योजनाहरूबारे जानकारी दिन्थें । बजेट लिने प्रक्रियाबारे बुझाउँथें । मधेस मात्रै होइन, देशभरका पालिकाले नै पाँचवर्षे योजना बनाएका छैनन् । महिलाका लागि कुनै योजना छैन ।

मधेशका महिला उद्यमीलाई सघाउन यूएन विमेनलगायत संघसंस्थाले धेरै कार्यक्रम गर्ने गरेका छन् । म आफैं झन्डै २२ वर्षदेखि यस्ता काममा लागिरहेकी छु । २२ वर्षअघि हामीले कार्यक्रम गर्दाका महिलाहरू अहिले प्रतिनिधिसभा, राष्ट्रिय सभामा आइसकेका छन् । मधेशका महिलालाई बचत समूहमा आबद्ध गरेर उनीहरूको बचतलाई कसरी लाभमा परिणत गर्ने, केमा खर्च गर्ने, ब्याज कसरी बढाउने, मार्केटिङ कसरी गर्ने भन्ने तरिका सिकाएकी छु । महिलाले वर्षौंदेखि पारिश्रमिक नलिई काम गरिरहेका छन् । उनीहरूको सीपलाई ‘क्यापिटलाइज’ गर्ने बेला आइसकेको छ ।

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य झासँग कान्तिपुरकी सजना बरालले गरेको कुराकानीमा आधारित

प्रकाशित : असार २५, २०७९ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×