पाल्पाको पूर्वखोला गाउँपालिकाका विभिन्न वडामा फैलिएको खपटे किराको महामारी नियन्त्रण गर्न किटनाशक औषधि, स्प्रे मेसिन र प्राविधिक टोली परिचालन गरिएको छ ।
What you should know
पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका विभिन्न फाँट क्षेत्रमा वर्षे धानबालीमा काँडादार खपटे किराको महामारी फैलिएपछि गाउँपालिकाले नियन्त्रणका लागि किटनाशक औषधि वितरण गरेको छ ।
किसानले भर्खरै लगाएको धानबाली थप क्षति हुन नदिन गाउँपालिकाको कृषि शाखामार्फत प्राविधिकसहितको टोली परिचालन गरी प्रभावित क्षेत्रमा किटनाशक औषधि वितरण गरिएको हो । स्प्रे मेसिन, पीपीई सेट लगायतका सामग्रीसमेत बाँडिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए । ‘पालिकाका कृषि प्राविधिकलाई किराले क्षति पुर्याएको स्थानमा स्थलगत अनुगमनका लागि खटाइएको छ,’ उनले भने, ‘आवश्यकताअनुसार औषधि वितरणका लागि निर्देशन दिइएको छ ।’
पूर्वखोला गाउँपालिकाको वडा नम्बर १ सिलुवा, २ जल्पा, ३ रिङ्नेरह, ४ देवीनगर, ५ वीरकोटका विभिन्न फाँट क्षेत्रमा लगाइएका धानबालीमा खपटे किराको प्रकोप फैलिएको कृषि शाखाका सहायक कृषि प्राविधिक शिरबहादुर बुढाले बताए । वडा १ को अल्कीचौर, तामाखानी लगायत खोला क्षेत्रमा किराले धानबाली खाएको छ । पूर्वखोला फाँट क्षेत्रका विभिन्न स्थानमा पनि किराले धान खाएपछि पहेँलै भएको छ ।
कृषि प्राविधिकले अनुगमनका क्रममा किसानलाई किराको पहिचान, नियन्त्रणका उपाय, विषादी प्रयोग गर्ने सही विधि, मात्रा, समय तथा मल व्यवस्थापन सम्बन्धी आवश्यक प्राविधिक जानकारी प्रदान गरेको बताएका छन् । गाउँपालिकाले प्रकोप बढी फैलिएको क्षेत्रमा प्रयोग गर्न थायामेथोक्साम १० प्रतिशत र ल्याम्ब्डा-साइहालोथ्रिन ५ प्रतिशत ईसी भएको रासायनिक विषादी ७ हजार ५ सय मिलिलिटर वितरण गरिएको छ । प्रकोप कम फैलिएको क्षेत्रमा प्रयोग गर्नका लागि एजाडिराक्टिन ०.१५ प्रतिशत ईसी (१५०० पीपीएम) भएको जैविक विषादीसमेत ७ हजार ५ सय मिलिलिटर वितरण गरिएको छ । पीपीईका पूर्ण सेट ५ वटा तथा विद्युतीय र हातले चल्ने विषादी छर्ने स्प्रे ट्यांकी ५ वटा वितरण गरिएको छ।
किसान, कृषि प्राविधिक र स्थानीय तहबीचको सहकार्यबाट यस समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् । पूर्वखोलाको सिलुवाका केही धान खेतमा राइस लिफ फोल्डर किराको समेत प्रकोप देखिएको छ । यसले धानबालीका पातलाई फोल्ड गर्ने गर्छ । प्रकोप देखिएका स्थानमा पुगेर किसानलाई सचेत गराइएको उनले बताइन् । अनुगमनका क्रममा धानबालीमा देखिएको क्षतिको अवस्था मूल्यांकन गर्दै किराको प्रभाव कम गर्न आवश्यक विषादीको सुरक्षित प्रयोग, समयमै व्यवस्थापन तथा एकीकृत कीरा व्यवस्थापनसम्बन्धी जानकारी किसानलाई प्रदान गरिएको छ ।
धान बालीलाई क्षति पुग्ने गरी प्रकोप देखिएपछि प्रतिनिधिसभा सदस्य सन्दीप रानाले पाल्पा क्षेत्र नं. १ संसदीय सचिवालयमार्फत थप किटनाशक विषादी वितरण गरेका छन् । संसदीय सचिवालयबाट खटिएको कृषि प्रविधिक सहितको टोलीले रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाका किसानलाई प्रकोप नियन्त्रणका लागि आवश्यक परामर्शसहित विषादी वितरण गरेको हो ।
सांसदको सचिवालयले यसअघि पूर्वखोला आसपास धानखेती लगाएका वडा नं. २ र ३ का कृषकहरुलाई वितरण गरिसकेको छ । पुनः रम्भा गाउँपालिका वडा नं. ५ फुरुङ्गदी, घुर्चिस र मुन्टुङ्ग फाँटका किसानसंगै पूर्वखोलामा अपुग भएका स्थानका लागि थप औषधी प्रदान गरेको सचिवालय सदस्य जीवन तिवारीले बताए ।
कृषि प्राविधिक निर्जल पाण्डेका अनुसार युरियाको अत्याधिक प्रयोग, बाक्लो रोपाई, उच्च आद्रता, लगातार ओसिलो वातावरण, हिउँदको बाली स्याहार्ने बित्तिकै रोपाई गरी धान लगाउँदा राइस हिस्पाको प्रकोप देखिएको बताए ।
