कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कपिलवस्तुको सुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिक शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

श्रावण १०, २०८३

मनोज पौडेल

Two killed after bus hits motorcycle in Kapilvastu

कपिलवस्तु — लुम्बिनी–तौलिहवा हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिक शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रीपेन्द्रकुमार सिंहले बताए।

गम्भीर घाइते भएका यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइलाई तत्कालै सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचारका लागि पुर्‍याइए पनि उनीहरूको मृत्यु भइसकेको थियो।

बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully