शनिबार दिउँसो गाईबाख्रा चराउँदै गरेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर अचानक खसेको पहिरोमा पुरिएका थिए ।
काठमाडौँ — रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिएका दुई महिलाको शव भेटिएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार दिउँसो गाईबाख्रा चराउँदै गरेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर अचानक खसेको पहिरोमा पुरिएका थिए ।स्थानीय र प्रहरीको सहयोगमा घटनास्थलबाट साँझ दुवै जनाको शव निकालिएको थियो । घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ पंचकुमार बाखुले बताए । उनलाई उपचारका लागि सेरम स्वास्थ्य चौकीमा पठाइएको छ ।
पहिरोमा चारवटा बाख्रा र दुईवटा गाईसमेत पुरिएकोमा ती चौपायालाई पनि बाहिर निकालिएको छ । थप चौपायाको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय सुनछहरीको केन्द्र पोवाङबाट करिब २५ किलोमिटर पूर्वमा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
