५ वर्षमा बन्नुपर्ने कर्णालीको तटबन्ध १२ वर्षसम्म २२ किलोमिटर मात्रै

बर्दियामा ५ वर्षमा सक्ने भनिएको ७१ किमी कर्णाली नदीको तटबन्धमध्ये हालसम्म २२ किमी मात्र निर्माण भएको छ, जसले बाढी र कटानको जोखिम रहेका बस्तीको त्रास हट्न सकेको छैन ।

श्रावण ९, २०८३

कमल पन्थी

Karnali embankment, which was supposed to be built in 5 years, only 22 kilometers completed in 12 years

What you should know

बर्दिया — कर्णाली नदीमा कटान नियन्त्रण र बाढी रोकथाम व्यवस्थापनको काम ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भने १२ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

साविक कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजना राजापुर हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले ५ वर्षमा सम्पन्न गर्नुपर्ने ७१ किलोमिटर तटबन्धमध्ये १२ वर्षमा करिब २२ किलोमिटर मात्र निर्माण भएको छ ।

०७१ फागुन १५ मा तत्कालीन सिँचाइ मन्त्री एमपी साउँदले आयोजनाको उद्घाटन गरेका थिए । गुरुयोजना अनुसार कर्णाली र यसको भंगालो गेरुवा नदीमा तटबन्ध पूर्णरुपमा सम्पन्न गर्नका लागि १२ अर्ब ८० करोड ७४ लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो ।

कर्णाली नदी नियन्त्रण आयोजना अन्तरगत ५ वर्षभित्र ७१ किमी तटबन्ध निर्माण सम्पन्न गर्नुपर्ने योजना सुस्त गतिले काम भइरहेको छ । हालसम्म करिब २५ प्रतिशत तटबन्धको काम भएको छ । ०८३ असारसम्म करिब २२ किमी तटबन्ध निर्माण भएको आयोजनाले जनाएको छ ।

वर्षेनी यस भेगको खेती योग्य जमिन कटानबाट जोगाउन र बाढीबाट हुने डुबान रोक्न सरकारले तटबन्ध निर्माणका लागि आयोजनाको कार्यालय स्थापना गरेको थियो । नदी नियन्त्रणको काम ढिला सुस्ती हुँदा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका कटान र डुबान क्षेत्र उच्च जोखिममा रहेको छन् । राजापुर–४ का किसान हरिप्रसाद थारुले तटबन्धको काम पूरा नहुँदा बर्खामा ढुक्क हुने अवस्था नरहेको बताए ।

वर्षायाममा नदी कटान र बाढीले निकै दुःख दिने राजापुर र गेरुवा पालिकामा योजना अनुसार नहुँदा जोखिम भएको उनले सुनाए । हालसम्म आयोजनाले २ अर्ब ८० करोड बढीमा १ सय ६८ वटा स्पर, बाढी नियन्त्रणका लागि २७ ठाउँमा तटबन्ध निर्माण गरेको जनाएको छ । राजापुर–४ को दलईघाट कर्णाली नदीको सबैभन्दा बढी कटान र बाढीको जोखिम मानिन्छ ।

आयोजना प्रमुख सुदिन मुक्तानले बजेट अभावले तटबन्धको काम सुस्त गतिमा भइरहेको बताएका छन्। 'बजेटको अभावमा काम द्रुतगतिमा हुन सकेको छैन,’ उनले भने, ‘३/४ वर्षको वार्षिक बजेट आकलन गर्दा ८/९ करोड निकासा भएकोले तटबन्धको काम सुस्त गतिमा भएको हो ।'

वर्षायाममा ठूलो बाढी आए यस क्षेत्रको मुक्त कमैयाबस्ती, राजापुर बजार, संर्घषनगरलगायत दर्जन बढी बस्ती डुबानमा पर्ने जोखिम रहेको राजापुर–३ का लक्षमण थारुले बताए । 'यसका साथै सत्तीघाटस्थित कर्णाली पुलको पश्चिमतर्फ कटान भई आउजाउ ठप्प हुने अवस्था छ,' उनले भने,'राज्यले यस तर्फ ध्यान नदिए बाढी र कटानले तहस हस बनाउने छ ।' 

गेरुवा गाउँपालिका–२ राजीपुरलगायत बनघुस्रा, टिकुलीगढलगायतका बस्ती बाढी र कटानको उच्च जोखिममा छ । गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले वर्षेनी वर्षायाममा बाढीले दर्जनौं बस्ती डुबानमा परेर यहाँका बासिन्दा विस्थापित हुने गरेको बताए । 'बाढी पस्नासाथ रोपाइँ गरेको धान समेत डुबेर क्षति हुने गरेको छ,’ उनले भने, ‘तटबन्ध निर्माण अहिलेसम्म सकिएको छैन । बाढीले बर्खामा यस भेगका दर्जन बढी बस्ती उच्च जोखिममा छन् ।'

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully