नेपालगन्जमा एकैदिन ६ सालिक अनावरण

जेन-जी आन्दोलनका क्रममा तोडफोड गरिएका ती सालिकको अनावरण गरिएको हो ।

श्रावण ९, २०८३

रुपा गहतराज

Six statues unveiled in a single day in Nepalgunj

काठमाडौँ — नेपालगन्ज उपमहानगरपालिकामा आज एकैदिन ६ वटा सालिक अनावरण गरिएको छ । उपमहानगरका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक सालिकको अनावरण गरे ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सलिकसँगै गणेशमान सिंह, बीपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा सहिद सेतु विकका पुनर्निर्माण गरिएका शालिक नेपालगञ्जका अलगअलग स्थानमा पुनः स्थापित भएका हुन् ।  

अनावरण कार्यक्रममा नगरप्रमुख विष्टले इतिहासको सम्मानका साथै ऐतिहासिक व्यक्तित्वको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले सालिक पुनर्निर्माण गरिएको बताए । 'यी हाम्रा धरोहर हुन् जसले इतिहासलाई जीवन्त राख्ने छन्,' उनले भने । 

अनावरण कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताको सहभागिता थियो । पूर्वप्रधानमन्त्री कोइरालाका बाहेक अन्य पाँच वटा सालिक निर्माणमा करिब २५ लाख खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully