कार्यसम्पादनमा पाल्पा अदालत देशभरमै दोस्रो

गत आर्थिक वर्षमा जिल्ला अदालत पाल्पाले ७ सय ५१ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकामा ९ सय ८७ मुद्दा फर्छ्यौट गरेको छ ।

श्रावण ५, २०८३

माधव अर्याल

Palpa Court ranks second in the country in terms of performance

पाल्पा — जिल्ला अदालत पाल्पा कार्यसम्पादन मूल्यांकनमा देशभरमै दोस्रो उत्कृष्ट जिल्ला बनेको छ । गत आर्थिक वर्षमा जिल्ला अदालतले ७ सय ५१ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ९ सय ८७ मुद्दा फर्छ्यौट गरेको छ । 

आर्थिक वर्ष २०८२/०८३ को मूल्यांकनमा समयमै न्याय सम्पादन गर्न सफल पाल्पा जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीलाई संघ र प्रदेशबाट सम्मान गरिएको छ ।

कार्यसम्पादनमा पहिलो भएको कञ्चनपुर जिल्ला अदालतले १ हजार ११ मुद्दा फैसला गरेको छ । पाल्पा अदालतले छिटो, प्रभावकारी र गुणस्तरीय न्याय सम्पादनलाई प्राथमिकता दिएकाले ८०.७६ प्रतिशत मुद्दा फर्छ्यौट भएको स्रेस्तेदार केशवप्रसाद पराजुलीले जानकारी दिए ।

गत आर्थिक वर्षमा पाल्पा अदालतमा ९ सय ५३ मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षबाट सरिआएका २ सय ६९ गरी ९ सय ८७ मुद्दा फर्छ्यौट गरेको उनले बताए । स्रेस्तेदार पराजुलीले कुल २१ वटा विभिन्न विषयगत शीर्षकमध्ये सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी ६ सय ४५ वटा दर्ता भएकोमा ५ सय ५५ वटा फर्छ्यौट भएको बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully