सुशील कोइराला क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन

अस्पतालको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको छ ।

श्रावण ५, २०८३

रुपा गहतराज

Liquid oxygen plant operational at Sushil Koirala Cancer Hospital

नेपालगन्ज — बाँकेको खजुरास्थित ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’मा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको छ । अक्सिजन प्लान्ट शनिबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए । उनका अनुसार २० किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो।

स्वास्थ्य मन्त्रालयको समन्वय र युएसएडको आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो । ‘यो प्लान्ट सुरु भएसँगै अक्सिजन स्टोर गरेर पनि राख्न सकिन्छ,’ डा. भट्टराईले भने,‘बिरामीको उपचारमा सहजता ल्याउन अस्पतालको केमो वार्डमा नै छुट्टै फार्मेसी सञ्चालन गर्नेदेखि एउटै भवनबाट रेडियोलोजी र प्रयोगशाला सेवा समेत सञ्चालनमा ल्याइएको छ ।’

उनका अनुसार लायन्स क्लबको समन्वयमा छिट्टै बिरामी कुरुवा घर पनि सञ्चालनमा ल्याउन लागिएको छ । धार्मिक अनुष्ठानबाट जनस्तरमा निर्माण भएको सो अस्पताल २०७२ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । 

संघीय सरकारले पूर्ण स्वामित्व लिए पनि हालसम्म अस्पतालको दरबन्दी स्वीकृत नहुँदा अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीबाट अस्पताल सञ्चालन हुँदै आएको छ । अस्पतालमा अहिले १४ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । ती सबै करारमा कार्यरत हुन् । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully