शवगृहको फ्रिज बिग्रिएपछि तिलसरी पुन डाँगीको शव अस्पतालमा सुरक्षित राख्न समस्या भएको छ भने परिवारले अझै शव बुझेका छैनन्।
What you should know
रोल्पा — रोल्पा अस्पतालमा शवगृहको फ्रिज बिग्रिँदा एक महिलाको शव तीन दिनदेखि अलपत्र परेको छ।
मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेपछि रोल्पा नगरपालिका–७ की ३९ वर्षीया तिलसरी पुन डाँगीको शव सुरक्षित राख्न अस्पताललाई समस्या भएको हो।
मृतकका पति कर्णबहादुर डाँगीले आफूलाई ठगी मुद्दामा अनाहकमा फसाइएको र त्यसैका कारण श्रीमतीले आइतबार आत्महत्या गरेको दाबी गरेका छन्। न्याय नपाएसम्म शव नबुझ्ने उनको अडान छ। ‘मलाई अनाहकमा ठगी मुद्दामा फसाइएको छ । साेही मुद्दामा काठमाडौं प्रहरीको हिरासतमा दुई साता भयो। यही करणले मानसिक तनावमा परेकी मेरी श्रीमतीले आत्महत्या गरिन्,’ कर्णले भने, ‘ममाथि अन्याय भएको छ। न्याय नपाएसम्म शव बुझ्दिनँ।’ डाँगीले आइतबार बिहान आत्महत्या गरेकी थिइन् ।
फ्रिज बिग्रिएको अवस्थामा शव लामो समयसम्म सुरक्षित राख्न कठिन हुने भएकाले अस्पतालमा असहज अवस्था सिर्जना भएको छ। परिवारले शव नबुझेका कारण पोस्टमार्टमसमेत हुन सकेको छैन।
अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीका अनुसार फ्रिज बिग्रिएपछि मर्मतका लागि पहल भए पनि अहिलेसम्म मर्मत हुन सकेको छैन। ‘शव राख्ने फ्रिज बिग्रिएको छ। मर्मतका लागि पहल भइरहेको छ, तर अहिलेसम्म मर्मत हुन सकेको छैन,’ उनले भने।
काठमाडौं प्रहरीको हिरासतमा रहेका कर्णलाई श्रीमतीको मृत्यु भएपछि सोमबार रोल्पा ल्याइए पनि उनले शव बुझ्न अस्वीकार गरेका हुन्। कर्णले आफूलाई ठगी मुद्दामा फसाउने व्यक्तिहरू र घटनाको छानबिन गरी न्याय दिन आग्रह गरेका छन्। श्रीमतीको मृत्युपछि वृद्ध बुबाआमा र ६ वर्षीय छोरासमेत थप पीडामा परेको उनले बताए।
रोल्पा नगरपालिका–२ का वडाध्यक्ष प्रकाश डाँगीले पनि कर्ण मुछिएको घटनाको वास्तविकता छानबिन गरिनु पर्ने बताए। रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले शव हस्तान्तरणको प्रयास भइरहेको र घटनासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको बताए। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पनि घटनाबाट उत्पन्न परिस्थितिबारे सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए।
