पश्चिम नवलपरासीका ५३९५ उखु किसानको खातामा असार मसान्तअघि नै १२ करोड ६१ लाख रुपैयाँ अनुदान रकम जम्मा गरिएको छ ।
परासी — पश्चिम नवलपरासीका उखु किसानले आर्थिक वर्ष २०८२/८३ को अनुदान रकम समयमै नै भुक्तानी पाएका छन्। जिल्लाका ५ हजार ३ सय ९५ किसानले अनुदान रकम पाएका हुन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कमल सापकोटाका अनुसार १२ करोड ६१ लाख ७७ हजार ३ सय ५ रुपैयाँ असारमसान्त अगाडि नै किसानको खातामा भुक्तानी भइसकको बताए । सापकोटाका अनुसार ४ सय ६४ जना किसानको आवश्यक कागज र विवरण पेश हुन नसकेकाले ३५ लाख ६८ हजार ९ सय १४ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले ३ हजार ५ सय १४ र लुम्बिनी चिनी उद्योगले १ हजार ८ सय ८१ किसानको उखु खरिद गरेको विवरण पेश गरेका थिए । जिल्लामा रहेका चार वटा चिनी मिलमध्ये बागमती खाँडसारी चिनी मिल र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा थिए । बागमतीले ११ लाख ५४ हजार ४ सय ३४ क्विन्टल र लुम्बिनी चिनी मिलले ६ लाख ९९ हजार ८३ क्विन्टल उखु क्रसिङ गरेको थियो ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक किसान संघका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले सरकारले उखु किसानको अनुदान रकम समयमै भुक्तानी गरेर किसानलाई राहात मिलेको बताए ।
