चिसापानी अस्पतालमा एन्टी स्नेक भेनम अभाव

चिसापानी नगर अस्पतालमा एन्टी स्नेक भेनम नहुँदा सर्पदंशका बिरामीहरूले उपचारका लागि परासी वा जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

श्रावण ४, २०८३

नवीन पौडेल

Anti-snake venom shortage at Chisapani Hospital

परासी — पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानी नगर अस्पतालमा सर्पदंशविरुद्धको औषधि अभाव भएको छ ।

अस्पतालमा सर्पदंशको उपचारका लागि आउनेको संख्या बढे पनि एन्टी स्नेक भेनम अभाव भएपछि बिरामीले सदरमुकाम परासी वा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । 

चिसापानी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिषेक चापागाइँका अनुसार केही दिनदेखि अस्पतालमा एन्टी स्नेक भेनम अभाव भएको र प्रदेश स्वास्थ्य सेवा विभागमा माग गरिएको बताए । ‘विषालु सर्पले टोकेका बिरामी आएमा फिर्ता पठाउनुपर्ने अवस्था छ,’ उनले भने,‘अहिले अस्पतालमा १५ भेनम औषधि मात्रै छ । एउटा बिरामीलाई नै १० भेनम दिनुपर्ने हुन्छ ।’

सर्प उद्धारकर्ता दुर्गा लामिछानेका अनुसार अहिले सर्पदशंका घटना बढेको र घरभित्र पसेका सर्प उद्धारका लागि दैनिक ५/१० फोन आउने गरेको बताए । शनिबारमात्र बर्दघाट नगरपालिकामा एउटै घरबाट गोमन सर्पको ११ वटा बच्चाको उद्धार गरिएको बताए । सर्पदशंका घटना बढ्दै जाँदा अस्पतालमा एन्टी स्नेक भेनम नहुँदा समस्या परेको र तत्काल प्रदेश बाट औषधि आपुर्ति गर्नुपर्ने उनले बताए । 

जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल परासीमा ४५ भेनम औषधि स्टक रहेको अस्पताल प्रमुख डा. वृजकुमार यादवले बताए । अस्पतालले २० भेनम भन्दा तल औषधि भएलगत्तै प्रदेशबाट थप ल्याउने र अहिलेका लागि सर्पदशंका बिरामीलाई उपचार गर्न समस्या नभएको बताए ।  

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully