धान उत्पादनमा महत्वपूर्ण योगदान गर्ने लुम्बिनी प्रदेशमा साउन १ सम्म ८०.६४ प्रतिशत रोपाइँ भएको हो ।
What you should know
पाल्पा — लुम्बिनी प्रदेशका १२ जिल्लाको २० प्रतिशत खेतमा अझै धान रोप्न बाँकी छ । धान उत्पादनमा महत्वपूर्ण योगदान गर्ने लुम्बिनी प्रदेशमा साउन १ सम्म ८०.६४ प्रतिशत रोपाइँ भएको हो ।
समयमै वर्षा भएको भए अहिलेसम्म ९० प्रतिशत रोपाइँ भइसक्ने लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ ।
अहिलेसम्म २ लाख ४३ हजार ४१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले बताए । ‘सिँचाइ कुलो भएका र समयमा वर्षा भएका स्थानमा धेरै रोपाइँ भएको छ,’ उनले भने, ‘कतिपय स्थानमा पानी पर्याप्त भएकाले छिट्टै रोपाइँ भएको छ ।’
समयमा आकाशे पानी नपर्नु, सिँचाइ सुविधा पर्याप्त विस्तार हुन नसक्दा रोपाइँ ढिला हुन गएको निर्देशनालयले जनाएको छ । कुलो, सिँचाइका संरचना बनेका जिल्लामा धान रोपाइँ सतप्रतिशतसम्म भइसकेको निर्देशनालयले जनाएको छ । रुपन्देहीमा ९५, पश्चिम नवलपरासीमा ९७.५, दाङमा ७७, बर्दियामा ९५, कपिलवस्तुमा ६०, बाँकेमा ६० प्रतिशत रोपाइँ सकिएको निर्देशनालायले जनाएको छ । पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ७६ प्रतिशत रोपाइँ भएको छ । पाल्पामा ८५, अर्घाखाँचीमा ८०, रोल्पामा सतप्रतिशत, रुकुमपूर्वमा ९६ र प्युठानमा ९६ प्रतिशत रोपाइँ सकिएको छ ।
निर्देशनालयका अनुसार रुपन्देहीमा कुल ६३ हजार ५५० हेक्टर मध्ये ६० हजार ३७३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले पठाएको तथ्यांक अनुसार नवलपरासीमा २० हजार ८८७ हेक्टरमध्ये २० हजार ३६३ हेक्टरमा, कपिलवस्तुमा ६६ हजार २६५ मध्ये ४० हजार २६९ हेक्टरमा, पाल्पामा ७ हजार २८७ मध्ये ६ हजार १९४ हक्टरमा, गुल्मीमा ६ हजार ५४१ मध्ये ४ हजार ९७१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
अर्घाखाँचीमा ६ हजार ७६० मध्ये ५ हजार ४०८ हेक्टरमा, रोल्पामा ३ हजार ७३ मध्ये ३ हजार ७३ मै रोपाइँ सम्पन्न भएको छ । दाङमा ३६ हजार २ सय मध्य २७ हजार ८७४ हेक्टरमा, बाँकेमा ३३ हजार ७८० मध्ये २० हजार २६८ हेक्टरमा, प्युठानमा ६ हजार ५२५ मध्ये ६ हजार २६४ हेक्टरमा, रुकुम (पूर्व) ३ सय ५४ हेक्टरमध्ये ३ सय ४० हेक्टरमा र बर्दियामा ५० हजार १५० मध्इे ४७ हजार ६४३ हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
