परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोटका ५७ वर्षीय पुरुषको हिँडिरहेको अवस्थामा पहिरोमा पुरिएर मृत्यु भएको हो ।
रोल्पा — अविरल वर्षापछि आएको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु भएको छ ।
पश्चिम उत्तरमा रहेको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोटका ५७ वर्षीय देउप्रसाद घर्तीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान हिँडिरहेको अवस्थामा घर्तीलाई पहिरोले पुरेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुका अनुसार शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा मानिस पुरिएको खबर शुक्रबार बिहान साढे ५ बजे इलाका प्रहरी कार्यालय पाछावाङमा पुगेको थियो । त्यसलगत्तै प्रहरी नायब निरीक्षक नरसिंह खत्रीको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरी टोली बिहान ७ बजेर २० मिनेटमा घटनास्थलमा पुग्न सफल भएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय पाछावाङबाट करिब पाँच किलोमिटर उत्तरतर्फ र सदरमुकाम लिबाङबाट करिब ६० किलोमिटर पश्चिममा पर्छ ।
शवको पहिचान पछि पोस्टमार्टम गर्न प्रहरीले पीडित परिवारलाई मद्दत गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
