कर्णाली नदीको सिँचाई सुविधा भएकाले राजापुर नगर र गेरुवा गाउँपालिकामा करिब शतप्रतिशत नै धान रोपाइँ भईसकेको छ।
बर्दिया — यस वर्ष मनसुनी वर्षा ढिलो र कमजोर भएपनि बर्दियामा करिब ९० प्रतिशत धान रोपाइँ भएको छ । किसान यतीखेर आकाशे पानीकै भरमा धान रोपाईमा व्यस्त छन् ।
बर्दियाका गुलरिया, मधुवन, बासगढी, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिका क्षेत्रमा ढिलो रोपाइँ भएको हो । मनुसुनी वर्षा सक्रिय हुन थालेपछि गुलरिया र बढैयातालमा रोपाई अझैपनि भई रहेको छ ।
गुलरिया–१० का किसान मिलन लोधले सिँचाई सुविधा नहुनु र पर्याप्त मात्रामा आकाशे पानी नपर्दा समयमा नै रोपाइँ हुन नसकेको बताए । ब्याड उखाल्ने काम भई रहेकोले पानी कहिले पर्ला भन्दै रोपाइँका लागि प्रतिक्षा गरेको उनी बताउँछन् । गुलरियाका ६, ७, ९, १०, ११ वडाका किसान रोपाइँका लागि पर्याप्त वर्षाको प्रतिक्षामा छन् ।
बढैयाताल–२ का किसान धनबहादुर खत्रीले मनसुनी वर्षा पर्याप्त मात्रामा नपर्दा शुक्रबारदेखि पम्मले जमिनमुनीबाट पानि निकालेर रोपाइँ शुरु गरेको बताए । उनले गत वर्ष १५ असार अगावै रोपाइँ सम्पन्न गरेको पनि सुनाए ।
यहाँको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा कर्णाली नदिको सिँचाई सुविधा भएकाले यस क्षेत्रमा सबैभन्दा बढी धान रोपाइँ हुने गर्छ । यस क्षेत्रमा करिब शतप्रतिशत नै धान रोपाइँ भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाका प्रमुख कमला अधिकारीले बताइन् ।
‘त्यसबाहेक समग्रमा बर्दियामा पनि झन्डै ९० प्रतिशत क्षेत्रमा धान रोपाइँ भई सकेको छ,’ उनले भनिन् ‘एक साता भित्र शत प्रतिशत रोपाइँ भइ सक्ने छ ।’ बर्दियामा ५० हजार १ सय हेक्टरमा धान खेती हुने गर्छ ।
