धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया मल छर्ने गरिए पनि किसानले पछि नपाइने चिन्ताले अहिले नै माग गरिरहेको कम्पनीको भनाइ छ ।
What you should know
नेपालगन्ज — बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ७ हजार ६५४.७ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठका अनुसार वितरण गरिएको रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया ४ हजार ८१९.६, डिएपी २ हजार ६२८.४५० र पोटास २०६.६५० मेट्रिक टन रहेको छ ।
उनले कम्पनीमा अझै ३५६ दशमलव १०० युरिया, १०५ दशमलव ६५० डिएपी र १४ दशमलव ८३० मेट्रिक टन पोटास मौज्दात रहेको जानकारी दिए । बाँकेमा सबैभन्दा बढी मलको माग राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिका तथा नरैनापुर गाउँपालिकामा रहेको प्रमुख श्रेष्ठले बताए ।
धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया मल छर्ने गरिए पनि किसानले पछि नपाइने चिन्ताले अहिले नै माग गरिरहेको कम्पनीको भनाइ छ । किसानहरु मल वितरण हुने ठाउँमा एकैपटक पुग्दा समस्याजस्तो देखिए पनि अभाव नभएको कृषि सामग्री कम्पनीको दाबी छ ।
‘किसानले युरिया खेतीमा प्रयोग गर्नेबेला अहिले भएको छैन, धेरै ठाउँमा रोपाइ नै भएको छैन । पछि नपाउने डरले सबैभन्दा बढी माग युरियाकै आइरहेको छ,’ कृषि सामग्री कम्पनी नेपालगन्जका प्रमुख श्रेष्ठले भने, ‘रासायनिक मल आउनेक्रम जारी रहेको र साउन महिनाभरि वितरण हुने हुने छ ।’ उनले यस वर्ष रोपाइँको सिजनमा भदौसम्मका लागि अझै पनि ४ हजार मेट्रिक टन युरिया, २ हजार ५०० मेट्रिक टन डिएपी र केही मेट्रिक टन पोटासको माग भएको बताए ।
जिल्लाका आठ स्थानीय तहमै कृषि सहकारीमार्फत रासायनिक मलको वितरण भइरहेको कम्पनीले जनाएको छ । बाँकेमा असारसम्म ४४ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्ष यो अवधिमा ६० प्रतिशत रोपाइँ भएको थियो ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्ला दिनमा भएको वर्षा र सिक्टा सिँचाइ आयोजनाको पानीका कारण रोपाइँले गति लिएको छ ।
ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल ५५ हजार ८२६ हेक्टर खेती योग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती हुने गरेको छ । धान खेती हुनेमध्ये हालसम्म १४ हजार ८६३.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । ज्ञान केन्द्रका अनुसार बाँकेमा अधिकांश किसानले राधा–४ लगायतका मोटो धान र केही भारतीय हाइब्रिड जातका धान लगाउँदै आएका छन् ।
