लुम्बिनी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, आजै संसदीय दलको बैठक बस्दै

सरकारबाट फिर्ता हुने निर्णयसहित सरकारको समर्थन पनि फिर्ता लिने तयारी, एमालेले तत्काल सरकार नछोड्ने

असार ३२, २०८३

घनश्याम गौतम

Congress to leave Lumbini government, parliamentary party meeting to be held today

बुटवल — लुम्बिनी प्रदेशमा पनि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको छ । कांग्रेसले लुम्बिनी प्रदेश सभाको संसदीय दलको बैठक बिहीबार दिउँसो बोलाएको छ । बैठकमा मन्त्री र समर्थन फिर्ताको दुवै निर्णय एकैसाथ गर्ने तयारी भएको कांग्रेसले जनाएको छ । 

लुम्बिनीमा कांग्रेस–एमालेको मुख्य सत्ता साझेदार दल हो । कांग्रेसको समर्थनसहित लोसपा, जसपासहितको समर्थनमा २०८१ साउन ७ गते एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । 

कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परे पनि एमालेले तत्काल सत्ता नछोड्ने संकेत गरेको छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि एमालेले पहिलो चरणमै नेकपासँग सत्ता साझेदारीका लागि प्रयास गर्नेछन् । नेकपासँग सहमत भएको अवस्थामा अहिले सरकारमा सहभागी लोसपासहित एमालेले सरकारलाई निरन्तरता दिन सक्नेछ ।

नेकपाले कांग्रेससँग साझेदारी गर्ने निर्णय गरेको अवस्थामा मात्रै एमालले सरकार छोड्नुपर्ने अवस्था आउन सक्ने छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८३ सदस्य मात्र बहाल छन् । तिमध्ये एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सदस्य छन् । नेकपाका १३ मध्ये एक जना सभामुख हुन् । 

सरकार सञ्चालनका लागि ४२ सदस्यको समर्थन आवश्यक पर्छ । त्यसैले तिन जना प्रदेश सभा सदस्य रहेको लोसपा सरकार गठनमा दुई ठूला दलका लागि नेकपा र लोसपा वा ४ सदस्य रहेको राप्रपा निर्णायक बन्न सक्नेछन् । तर, लोसपा अहिले पनि सरकारमै रहेकाले सबैको रोजाई बन्न सक्छ । 

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज (बिहीबार) दिउँसो बस्ने संसदीय दलको बैठकबाट मन्त्रीले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताए । ‘अझै के गर्ने भन्ने टुंगो लागेको छैन, तर केन्द्रको निर्णय अनुसार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय हुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘त्यही बैठकमै समर्थन जारी राख्ने वा समर्थन पनि फिर्ता लिने भन्ने टुंगोमा पुग्छौं ।’ 

सरकारमा सहभागी तिन जना मन्त्री काठमाडौंमै रहेकाले उनीहरु फर्किने समयलाई ख्याल गरेर दिउँसो बैठक राखिएको उनले बताए । लुम्बिनीमा कांग्रेसका तर्फबाट सरकारमा ५ मन्त्री छन् । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार छन् । ति मध्ये धनेन्द्र कार्की, रोज राणा, जन्मजय तिमिल्सिना काठमाडौंबाट बिहीबार नै फर्कँदै छन् । प्रचण्डबिक्रम न्यौपाने बुधबार मात्र देउखुरी फर्किएका हुन् । 

लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुनले प्रदेशमा पार्टीको तर्फबाट मन्त्रीहरूको राजीनामा र समर्थन फिर्ता लिने गरी प्रक्रिया अघि बढेको र संसदीय दलको बैठकले निर्णय गर्ने बताए ।

‘सम्भवतः मन्त्रीको राजीनामा र समर्थन फिर्ता आजै होला,’ उनले भने, ‘त्यसपछि केन्द्रमा हुने सहमति अनुसार अन्य दलसँगको समर्थनमा सरकार बनाउने वा प्रतिपक्षमै बस्ने भन्ने निर्णय हुन्छ ।’ सरकार गठनका लागि प्रक्रिया सुरु गर्न भने केही समय लाग्न सक्ने उनले बताए ।

लुम्बिनीका सत्ता साझेदारका लागि बलियो शक्ति बनेको नेकपाले केन्द्रकै निर्णय कुर्दै त्यसपछि मात्र कुन दलसँग छलफल गर्ने भन्ने निर्णय लिने गरी अघि बढ्ने जनाएको छ । नेकपाका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालले तत्काल कुनै निर्णय र औपचारिक छलफल सुरु नहुने तर, अनौपचारिक संवाद जारी राख्ने उनले बताए । 

‘हामी अनौपचारिक छलफलमै छौं,’ उनले भने, ‘तर, औपचारिक छलफल तत्काल गरिहाल्ने परिस्थिति बनेको छैन ।’ सकेसम्म कम्युनिष्ट शक्ति मिल्ने प्रयास पनि गर्ने र केन्द्रमा हुने निर्णय अनुसार पनि अघि बढ्नुपर्ने भएकाले केन्द्रकै निर्णय पर्खिने अवस्था रहेको उनले बताए । लुम्बिनी प्रदेशले परिस्थिति हेरेर उपयुक्त निर्णय लिने पनि उनको दाबी थियो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully