रुपन्देही प्रहरीका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले यस घटनामा एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।
भैरहवा — बुटवलमा कोठा भाडामा लिएर नक्कली नेपाली नोट छाप्ने काम गर्दै आएको एउटा ठूलो गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । उनीहरुको साथबाट प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने अत्याधुनिक उपकरणसहित ठूलो परिमाणमा १ हजार दरका नक्कली नोट बरामद गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी रुपन्देही र ईलाका प्रहरी बुटवलको संयुक्त टोलीले यसबारे सूचना पाएपछि ‘अपरेशन चार्ली’ अभियान सञ्चालन गरी उक्त गिरोहलाई पक्राउ गरेको हो । रुपन्देही प्रहरीका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले यस घटनामा एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।
नक्कली नोट छाप्ने काममा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की गंगा कुमारी पुर्वछाने, पोखरा महानगरपालिका–१ का कृष्ण भन्ने किरण कृष्ण तिवारी, चाँगुनारायण नगरपालिका–भक्तपुरका रामचन्द्र खत्री, बाणगंगा नगरपालिका–२ कपिलवस्तुका संजय थारु, सैलुङ गाउँपालिका–४ दोलखाका पासाङ तामाङ र सिलुगुढी, भक्तिनगर थाना, पश्चिम बंगाल भारतका बासुमित्र आनन्द छन् ।
उनीहरुको साथबाट प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने अत्याधुनिक फोटोकपी मेसिन, ल्यापटप, नक्कली नोट कटिङ गर्ने मेसिन, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग गरिने पेपर र प्लास्टिक पेपर, लेमिनेसन मेसिन, नोट बनाउन प्रयोग हुने केमिकल र ६ थान मोबाइल फोन बरामद भएको छ । ‘सामान्य चिनजान भएकी एक महिलालाई क्युआरमार्फत गिरोहमा संलग्न एक महिलाले पैसा पठाउन प्रयोग गरेको २ थान हजारका नक्कली नोटबाट प्रहरीले थालेको खोजी तथा अनुसन्धानले गिरोह नै पत्ता लाग्यो,’ डिएसपी चन्दले भने ।
उनका अनुसार पक्राउ परेकी गंगाकुमारी पुर्वछानेले एक महिलालाई क्युआर गर्न भनेर दुई थान हजारका नक्कली नोट दिएकी थिइन् । ती नोट नक्कली भएको थाहा पाएपछि ती महिलाले प्रहरीमा निवेदन दिएपछि उनीहरुको खोजी तथा अनुसन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले एकपछि अर्को गर्दै उनीहरुलाई फरक फरक स्थानबाट पक्राउ गरेको हो । जसमध्ये रामचन्द्र खत्रीलाई पक्राउ गरेपछिको सोधखोजबाट बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित बालकुमारी घर्ती मगरको घरमा दुईवटा कोठा भाडामा लिइ नक्कली नोट छाप्ने गरेको कुरा खुल्न आएको थियो । उक्त कोठाहरुमा प्रहरीले छापा मार्दा नक्कली नोट छाप्न प्रयोग गरिएका उपकरणहरु बरामद भएका हुन् । उनीहरुमध्ये फरक फरक अभियुक्तहरुबाट प्रहरीले १ हजार दरका ६ सय २२ थान नेपाली नक्कली नोट बरामद गरेको छ ।
