नागरिकले दान गरेको १६४ रोपनी निःशुल्क जग्गामा बने अस्पताल, क्याम्पस, वडा कार्यालयदेखि प्रहरी चौकीसम्म
रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिकामा स्थानीय बासिन्दाले सार्वजनिक प्रयोजनका लागि निःशुल्क दान गरेको १६४ रोपनी जग्गामा पालिकाले अस्पताल, क्याम्पस, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, विद्यालय, बसपार्कलगायत दर्जनौं सार्वजनिक संरचना निर्माण गरेको छ ।
स्थानीयको स्वेच्छिक जग्गादानका कारण पूर्वाधार विकासले गति लिँदा त्रिवेणी जिल्लामै भौतिक विकासका हिसाबले अग्रणी स्थानीय तहका रूपमा स्थापित हुँदै गएको छ। जनप्रतिनिधिले जग्गा दान गर्ने नागरिकलाई सम्मान पनि गरेका छन्। गाउँपालिकाले सार्वजनिक गरिएको विवरणअनुसार विभिन्न वडा र बस्तीका नागरिकले दानपत्रमार्फत सार्वजनिक प्रयोजनका लागि हालसम्म १६४ रोपनी जग्गा उपलब्ध गराएका हुन्। कार्यालयका नायब सुब्बा प्रेम पुनले स्थानीय नागरिकले ठूलो मन बनाएर दान गरेको बताए ।
जग्गादाता नागरिकले प्रदान गरेको उक्त जग्गामा १५ शय्याको प्राथमिक अस्पताल, नव नेपाल क्याम्पस, वडा कार्यालयहरु, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, प्रहरी चौकी, रेडक्रस उपशाखा, गाउँघर क्लिनिक, विद्यालय तथा बसपार्क लगायतका संरचना निर्माण गरिएका छन्। विवरणअनुसार सबैभन्दा बढी ३०.३ रोपनी जग्गा त्रिवेणी–७ स्थित नमुना बालकल्याण आधारभूत विद्यालय, ढोरेनीका लागि दान गरिएको छ। यस्तै त्रिवेणी–५ मा रहेको १५ शय्याको प्राथमिक अस्पताल निर्माणका लागि विभिन्न सात जना जग्गादाताले संयुक्त रूपमा करिब २१ रोपनी जग्गा उपलब्ध गराएका छन्।
गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा मगरले स्थानीयको उदार सहयोगबिनाको अवस्थामा यति धेरै सार्वजनिक संरचना निर्माण गर्न सम्भव नहुने बताए। 'जग्गादाताहरूको सहयोगका कारण गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण गर्न सहज भयो, हामी खुशी छौं, ' उनले भने।
यस्तै गाउँपालिकाका संस्थापक अध्यक्ष शान्तकुमार वलीले स्थानीयसँग विकासको आवश्यकता र गाउँपालिकाको सीमित स्रोतबारे खुला रूपमा छलफल गरेपछि नागरिक आफैंले जग्गा दान गर्न अग्रसर भएको बताए। 'स्थानीय तहको संरचना भएको बेलामा म नेतृत्वमा पुगेँ। मेरो पालामा सबै संरचना निर्माण गर्नुपर्ने अवस्था थियो। जनतासँग आफ्नो अवस्था र समस्या साझा गरेपछि सहयोग पनि मिल्यो,' खुशी हुँदै उनले भने, 'सबैलाई खुसी बनाएर जग्गा प्राप्त गर्न सफल भएका थियौं।' उनका अनुसार सार्वजनिक संस्थाका लागि आवश्यक जग्गा सहज रूपमा प्राप्त भएपछि कार्यालयका भवन निर्माण र अन्य भौतिक पूर्वाधार विस्तारमा ठूलो सहजता पुगेको थियो।
साविकका जुगार, नुवागाउँ, बुढागाउँ, गैरीगाउँ र करेटी गाविसलाई समेटेर बनेको त्रिवेणी गाउँपालिका अहिले जिल्लामै भौतिक विकासका दृष्टिले अगाडि मानिन्छ। गाउँपालिकामा अधिकांश बस्ती सडक सञ्जालसँग जोडिएका छन्। क्याम्पस, अस्पताल, वडा कार्यालय तथा स्वास्थ्य चौकीका पक्की भवन निर्माण भइसकेका छन् भने शिक्षा, स्वास्थ्य र स्थानीय सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको गाउँपालिकाको दाबी छ।
पूर्वाधार विकाससँगै व्यावसायिक कृषि, पशुपालन र माछापालनका गतिविधि विस्तार हुँदै जाँदा त्रिवेणी गाउँपालिका उत्पादनमुखी स्थानीय अर्थतन्त्र विकास गर्ने पालिकाका रूपमा पनि परिचित बन्दै गएको छ। यहाँ वडा नम्बर २,३ र ४ मा पूर्ण व्यावसायिक तरकारी खेती गरिन्छ भने वडा नम्बर १,५,६ र ७ मा पनि खेती विस्तार हुने क्रममा छ। पालिका केन्द्र नेर्पादेखि सात वटै वडा कार्यालयमा सडकको पहुँच पुगेको छ। दाङ घोराहीदेखि रुकुमसम्मको सहिद मार्ग नुवागाउँ र गैरीगाउँ हुँदै अगाडि बढेकाले सडकको पहुँच सहज बनेको हो।
शैक्षिक अवस्था सुधार गर्न यहाँका १२ वटा माविमा एक/एक जना स्टाफ नर्सको दरबन्दी कायम गरिएको छ भने सबै विद्यालयमा आवश्यकता अनुसार शिक्षकको दरबन्दी पूर्ति गर्ने नीति अघि सारिएको छ। आव २०८३/८४ का लागि त्रिवेणी गाउँपालिकाले ५२ करोड ४४ लाख ३४ हजार बजेट सार्वजनिक गरेको छ।
उक्त बजेटलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा प्राथमिकता दिँदै खर्च गर्ने नीति अघि सारिएको छ। यद्यपि स्रोत सीमितता र कर्मचारीको अभावका कारण चाहेको काम हुन नसक्ने जनप्रतिनिधिहरुले बताएका छन्।
