समुन्द्री सतहदेखि ४ हजार मिटर उचाइमा रहेको चुङुरी बुकीमा बर्खाको हरियाली र रंगीचंगी फूलसँग रमाउन आउनेकाे संख्या बढ्दो छ।
रुकुम पश्चिम — केही वर्षयता रुकुम पूर्वको चर्चित पर्यटकीय स्थल बनेको छ चुङुरी बुकी अर्थात् चौंरी बुकी । यो क्षेत्रमा घुम्न आउनेको संख्या बढिरहेको छ । बर्खा सुरु भएसँगै हुने हरियाली र रंगीचंगी फूलसँग रमाउन यो याममा पर्यटक आउने गरेका छन् । तर पछिल्लो समय यहाँ आउनेले जथाभावी फोहोर फाल्ने गर्दा प्लास्टिक र सिसाजन्य फोहोर जम्मा हुन थालेको छ ।
भूमे गाउँपालिका–१ र पुथाउत्तरगंगा गाउँपालिका–११ को सीमा क्षेत्रमा पर्ने यो बुकी पाटन समुन्द्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा छ । यो सिजनमा यहाँ घुम्न आउनेको संख्या दिनदिनै बढिरहेको स्थानीय पर्यटन व्यवसायी दिलचन बुढा बताउँछन् । बिदाको दिनमा यहाँ निकै चहलपहल हुने उनले बताए । ‘खासगरी शनिबार र आइतबार त यो बाटो खाली नै हुँदैन । एकै दिनमा हजारौं मान्छे घुम्न आउहुन्छ,’ दिनचल भन्छन्, ‘केहीले पूरै पिकनिक खाने शैलीमा आउने अनि बिभिन्न खानपिन र ड्राइफुड समेत उतैबाट बाकेर ल्याई त्यसको फोहोर असरल्ल छाडेर हिँड्ने गरेका कारण समस्या भएको छ ।’
वस्तुभाउको चरिचरनका लागि एक महत्वपूर्ण स्थलका रुपमा समेत रहेको यो ठाउँमा यसरी फोहोर गर्दा भेडाबाख्रा र गाईवस्तुको स्वास्थ्यमा असर पर्ने गरेको स्थानीय नन्दु बुढाले बताए । ‘टाढा–टाढाबाट हाम्रो लेक घुम्न आउनुहुन्छ, खुसी लाग्छ । तर उहाँहरुले फोहोर गरिदिनाले निकै गाह्रो भइरहेको छ । जथाभावी फालिएका प्लास्टिक हाम्रा वस्तुभाउले खान्छन् अनि विरामी पर्छन् । पोहोर साल त केही भेडा समेत मरे,’ उनले भने, ‘प्लास्टिकसँगै सिसा पनि छाड्ने गरेका कारण हामीलाई बिझाउँछ र ठाउँलाई पनि असर गरिरहेको छ ।’
चुङुरी बुकीमा हुने यसप्रकारको फोहोरलाई व्यवस्थापन गर्न आफुहरुले सकेको कोशिष गरिरहे पनि सम्भव नभएको पनि पर्यटन व्यवसायी दिलचन बताउँछन् । पर्यटक स्वायंले सचेत हुनुपर्ने र स्थानीय सरकारले पनि फोहोर व्यवस्थापन गर्नका लागि कडाई गर्नुपर्ने उनको भनाई छ ।
स्थानीय धनकुमार पुनले आफुहरुले चुङुरी बुकीमा फोहोर हुन नगर्न अनुरोध गर्नेदेखि त्यहाँ हुने फोहोरलाई व्यवस्थित गर्ने काम गरेको बताए । पर्यटकको संख्या बढ्नु सबैका लागि सुखद् भए पनि आफुले गरेको फोहोरको व्यवस्थापन स्वयंले गर्नुपर्ने जिम्मेवारीबाट भने पर्यटक पन्छिएको भन्दै उनले यसप्रकारको चेतना फैलाउनुपर्ने बताए ।
भूमे–१ का वडाध्यक्ष मनकाजी पुनले गाउँपालिकाका तर्फबाट सकेको कोशिष गरिरहे पनि परिणाम आउन नसकेको स्विकारे । ‘हामीले पालिकाका तर्फबाट वन डिभिजन र अन्य सरोकारवालालाई यसको सरसफाई र व्यवस्थापनका लागि अनुरोध गरेका छौं,’ उनले भने,‘बजेटको अपर्याप्तताका कारण ठूलो काम गर्न भने सकिएको छैन । अगामी दिनमा यहाँको आवागमनलाई सहज र फोहोरको उचित व्यवस्थापन गर्नका लागि काम गर्नुपर्छ भनेर कार्यपालिकामा छलफल गरेका छौं ।’
