गत जेठ २७ गते राती चार क्विन्टल मह तम्घास बसपार्कमा बेच्नका लागि ल्याइएको थियो । सोही मह नक्कली भएको परीक्षणबाट पुष्टि भएपछि मंगलबार नष्ट गरिएको हो ।
गुल्मी — सदरमुकाम तम्घास बजारमा बेच्न ठीक्क पारिएको नक्कली मह प्रहरीले बरामद गरी नष्ट गरेको छ । गत जेठ २७ गते राती चार क्विन्टल मह तम्घास बसपार्कमा बेच्नका लागि ल्याइएको थियो । सोही मह नक्कली भएको परीक्षणबाट पुष्टि भएपछि प्रहरीले नष्ट गरेको हो ।
महजस्तो देखिने अखाद्य बस्तु रहेको शंकाका आधारमा प्रहरीले उक्त मह जेठ २७ गते नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । त्यसपछि उक्त मह खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तानसेन पाल्पामा नमुना पठाएर परीक्षण गरिएको हो । उक्त मह मापदण्डअनुसार नभएको र नक्कलीका हुनुका साथै अखाद्य बस्तु मिसाइएको पाइएकाले प्रहरीले नष्ट गरेको जनाएको छ ।
उक्त महजस्तो देखिने अखाद्य पदार्थ जिल्ला प्रशासन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका, उद्योग वाणिज्य संघ गुल्मीसमेतका प्रतिनिधिहरूको सहभागितामा जिल्ला प्रहरी कार्यालय गुल्मीकै परिसरभित्र खाडल खनेर मंगलबार पुरिएको छ । नियन्त्रणमा लिइएको उक्त मह परीक्षणपछि अखाद्य देखिएकाले बरामद गरेको चार क्विन्टल नै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताए ।
