प्रहरीका अनुसार घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको राप्ती यातायात प्रालिको लु२ख २९६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएपछि सडकमै पल्टिएको हो ।
रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाइबिसौनास्थित घोराही–घर्तीगाउँ सहिदमार्गमा बुधबार दिउँसो साढे ३ बजेतिर यात्रुवाहक बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको राप्ती यातायात प्रालिको लु२ख २९६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएपछि सडकमै पल्टिएको हो । बस चालक माडी गाउँपालिका–२, रोल्पाका २६ वर्षीय चन्द्रवीर पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रनाउ पन्चकुमार बाखुले बताए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुवागाउँबाट ट्राफिकसहित ५ सदस्यीय टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयसहितको टोलीले बसमा सवार करिब २२–२५ यात्रुमध्ये १३–१४ जनाको उद्धार गरेको थियो। घाइतेहरूको नुवागाउँस्थित स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय अवरुद्ध बनेको सडक अहिले एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको परिचय र उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।दुर्घटनाको कारण र क्षतिको थप अनुसन्धान भइरहेको छ ।
