श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र अब पाँच शय्याको छत्रकोट आधारभूत अस्पताल

पाँच शय्याको आधारभूत अस्पतालबाट अब २४ सै घण्टा आकस्मिक सेवा, ओपीडी, प्रसूति सेवा, ल्याब, एक्स–रे, ईसीजी, खोप, दन्त सेवा र फार्मेसीसहितका आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछन् ।

असार २३, २०८३

सन्तोष महतारा

Shringa Primary Health Center now a five-bed Chhatrakot Basic Hospital

What you should know

गुल्मी — छत्रकोट गाउँपालिकास्थित श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र स्तरवृद्धि हुँदै पाँच शय्याको छत्रकोट आधारभूत अस्पताल बनेको छ । १५ शय्याको पालिका अस्पताल संरचनामा जग्गा प्राप्ति तथा झन्झटिलो प्रक्रियासहितको ढिलाइका कारण त्यसअगावै पालिकाले सुरुवाती चरणमा पाँच शय्याको अस्पतालमा स्तरवृद्धि गरी सेवा प्रारम्भ गरेको हो ।

पाँच शय्याको आधारभूत अस्पतालबाट अब २४ सै घण्टा आकस्मिक सेवा, ओपीडी, प्रसूति सेवा, ल्याब, एक्स–रे, ईसीजी, खोप, दन्त सेवा र फार्मेसीसहितका आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछन् । आधारभूत सेवा प्रदान गर्न सक्षम भएका कारण श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र अब छत्रकोट आधारभूत अस्पताल बनेको अस्पतालका प्रमुख डा. मेडिकल अधिकृत नारायण न्याैपानेले बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पाेखरेलका अनुसार पालिकाकाे आधारभूत अस्पतालका रूपमा थप प्रभावकारी सेवा अस्पतालबाट प्रदान हुनेछ । उनलेे अब अस्पतालले २४ घण्टा नै सेवा प्रदान गर्ने पनि बताए । 

आधारभूत तहका सबै स्वास्थ्य सेवा उपलब्ध गराउने, थप गुणस्तरीय र थप परिस्कृत बनाउने, अझ स्वास्थ्य सेवा प्रभावकारी बनाउने स्राेत साधनको उपलब्धतता, जनशक्ति व्यवस्थापन र उपकरण लगायतको व्यवस्था गर्न स्थानीय सरकारले प्रदेश र संघ सरकारसँग समन्वय गर्ने प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्थानीय तहमा पालिका अस्पताल बनाउने कार्यक्रमअन्तर्गत झन्झटिलो प्रक्रियाका कारण ढिलाइ भएको बताए । 'हामीले पालिका अस्पताल प्रारम्भमै बनाएर सेवा प्रदान गर्ने सोंचमा थियौं', उनले भने, 'धेरै समस्याले पालिकाको संरचना सुरुवात गर्न सकेनौं, त्यसैले प्राथमिक स्वास्थ्य केन्द्र स्तरवृद्धि गरेर पालिका अस्पताल बनाउन सफल भएका छौं ।' उनले पालिका अस्पताल निर्माणको प्रक्रिया नरोकिने पनि बताए । सेवा प्रारम्भसँगै अब थप गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह हुने उनको दाबी छ ।

सन्तोष

Link copied successfully