सांसदलाई अशिष्ट व्यवहार नदेखाउन प्रमुख सचेतक ढकालको आग्रह

मंगलबार बसेको प्रदेश सभा बैठकमा कांग्रेस लुम्बिनी प्रदेशकी प्रमुख सचेतक जमुना ढकालले एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, सांसद दुर्गाबहादुर चौधरी, बसन्ती न्यौपाने र राजकुमार चौधरीले प्रदेश सभा नियावली २१ (घ) विपरीत व्यवहार प्रस्तुत गरेकाले उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने माग गरेकी हुन् ।

असार २३, २०८३

घनश्याम गौतम

Chief Whip Dhakal urges MPs not to behave rudely

What you should know

बुटवल — नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी प्रमुख सचेतक जमुना ढकालले संसद‍्मा आफ्ना भनाइ राख्दा सांसदलाई अशिष्ट र अश्लिल व्यवहार नदेखाउन आग्रह गरेकी छन् । 

सोमबार बसेको आठौं अधिवेशनको पन्ध्रौं बैठकको सुरूमै कांग्रेस संसदीय दलका नेता र मन्त्रीहरूतर्फ लक्षित गर्दै एमालेका सांसदले गरेको व्यक्तिगत टिप्पणीप्रति लक्षित गर्दै सभ्य भाषा प्रयोग गर्न उनले आग्रह गरेकी हुन् । बैठकमा नियमापत्ति गर्दै कांग्रेस सचेतक धनलक्ष्मी श्रेष्ठले विरोध  जनाएकी थिइन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकको सुरुमै प्रमुख सचेतक ढकालले एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, सांसद दुर्गाबहादुर चौधरी, बसन्ती न्यौपाने, राजकुमार चौधरीले प्रदेश सभा नियावली २१ (घ) विपरीत व्यवहार प्रस्तुत गरेकाले उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने माग गरेकी हुन् ।

‘सांसदले व्यक्तिगत टिप्पनी गरेर अश्लिल, अशिष्ट, अपमानजन र नैतिकताको प्रतिकूल हुने गरी बोलेका शब्द  रेकर्डबाट हटाइयोस्,’ उनले भनिन्, ‘सांसदले आफ्ना भनाइ राख्दा अश्लिल र अशिष्ट व्यवहार नदेखाउन आग्रह छ ।’ यस्ता गतिविधिले जनतालाई र वर्तमान युस्तालाई पनि त्यस्तै राजनीतिक संस्कार दिने भएकाले नीति बनाउने सांसद जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने उनले बताइन् । संघीयतामाथि नै प्रश्न उठेका बेला सांसदबाट प्रस्तुत हुने व्यवहारले संसद‍्को गरिमामाथि नै प्रश्न उठाएको उनको दाबी थियो ।

बैठकमा प्रमुख सचेतको मागअनुसार सभामुख तुलाराम घर्तीले आफूले अध्ययन गरेर रेकर्डबाट हटाउने प्रतिबद्धता जनाएका छन् । ‘मैले देखेको र सुनेको छु संसद‍्मा अशिष्ट व्यवहार प्रयोग भएको छ,’ उनले भने, ‘तर कुन कुन शब्द नियावलीविपरीत छन्, अध्यायन गरेर रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।’

साथै सभामुख घर्तीले बैठकमै नियावली पढेर प्रदेशभा सदस्यलाई सचेत गराउँदै आगामी दिनमा अश्लिल, अशिष्ट, अपमानजन, नैतिकताको प्रतिकूल हुने गतिविधि नगर्न निर्देशन दिएका छन् । कांग्रेसको मागअनुसार सभामुखले एमाले सांसदले प्रयोग गरेका शब्द रेकर्डबाट हटाउने प्रतिबद्धता जनाएपछि बैठक सुचारु भएको थियो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully