बजेट माथिको मन्त्रालयगत छलफल चल्दै, आजै मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिने तयारी
What you should know
बुटवल — लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।
प्रदेश सभाको आठौं अधिवेशनको ११ आौ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए । मन्त्री तिमिल्सिनाले प्रस्तुत गरेको प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए ।
सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेपछि विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको हो । अब सामाजिक विकास समितिले विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ । समितिको प्रतिवेदनपछि विधेयक पुनः प्रदेश सभामा पेश हुने र त्यसउपर थप छलफल तथा पारित प्रक्रियाखअघि बढ्ने प्रदेश सभाले जनाएको छ ।
प्रदेश सभामा लुम्बिनी सरकारको बजेट माथिको छलफल सोमबार पनि जारी छ । आगामी आवको बजेट सम्बन्धी मन्त्रालयगत छलफलमा सोमबार आर्थिक विकास तथा योजना मन्त्रालय, सहरी विकास तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेट माथिको छलफल चलिरहेको छ ।
सोमबार अपरान्ह ३ बजे बस्ने प्रदेश सभाको तेहृौं बैठकमा आर्थिक विकास, सहरी विकास, वन तथा वातावरण र कृषि मन्त्रालयको बजेट माथि उठेका प्रश्नहरुमा सम्बन्धित मन्त्री क्रमशः धनेन्द्र कार्की, सरोज थापा, देवकरणप्रसाद कलवार र तुलसीप्रसाद चौधरीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
प्रदेश सभाको आठौं अधिवेशनको तेहृौं बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश सभा, प्रदेश लोकसेवा आयोग र मुख्यन्यायाधिवक्ताको कार्यालयसंग सम्बन्धित बजेट र शिर्षकहरुमा समुहिकृत छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।
