पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–बनारसबीच 'बीटूबी ट्राभल मार्ट'

लुम्बिनी होटल संघले आफ्नै पहलमा थालेको यो कार्यक्रममा भारतको बनारसका साथै दिल्ली, लखनउ र बौद्धगयाका ४० जना सानाठूला ट्राभल एण्ड टूर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियर सहभागी छन् ।

असार २२, २०८३

मनोज पौडेल

'B2B Travel Mart' between Lumbini and Banaras to promote tourism

What you should know

लुम्बिनी — लुम्बिनी र बनारसबीच पर्यटन प्रवर्द्धन गर्दै यी क्षेत्रलाई थप पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले लुम्बिनीमा लुम्बिनी–बनारस बीटूबी ट्राभल मार्ट तथा फ्याम ट्रिप सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको अध्यात्मिकतालाई भारतको सांस्कृतिक राजधानी मानिने बनारससम्म जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्राभल मार्ट आयोजना गरिएको हो । 

कतैबाट कुनै सहयोग नलिएर लुम्बिनी होटल संघले आफ्नै पहलमा थालेको यो कार्यक्रममा भारतको बनारसका साथै दिल्ली, लखनउ र बौद्धगयाका ४० जना सानाठूला ट्राभल एण्ड टूर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियर सहभागी छन् । कार्यक्रममा लुम्बिनी र बनारसका ट्राभल एण्ड टूर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियरबीच छलफल, अन्तर्क्रिया र होटलका प्याकेज र सुविधाका बारेमा छलफल हुने लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माले बताए । ‘दुवै ठाउँका होटलका प्याकेजहरू आदान–प्रदान हुन्छन्,’ उनले भने, ‘यसले जसलाई जहाँ सुविधा भयो, त्यही होटलमा पाहुना पठाउँछन् ।’

सोमबार मध्याह्नबाट सुरु भएको ट्राभल मार्ट बुधबार सकिनेछ । लुम्बिनीमा निजी स्तरबाट सञ्चालन भएको यो पहिलो ट्राभल मार्ट पनि हो । यसले लुम्बिनीको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार र नेपाल–भारतबीच धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न थप सहयोग हुने लुम्बिनी होटल संघका सल्लाहकार खिम श्रेष्ठले बताए । कतै कुनै सहयोग नदिई स्वस्फूर्त रूपमा लुम्बिनीकै होटल व्यवसायीले आफ्नो होटलमा बास र खानाको प्रबन्ध गरी पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरिएको उनले बताए । 

लुम्बिनीमा चारतारेदेखि बजेट फ्रेन्डली ८३ वटा होटल र रेस्टुरेन्ट छन् । लुम्बिनी राजकुमार सिद्धार्थको जन्मस्थलका रूपमा विश्वमै चिनिएको छ । विश्व शान्तिको मुहान लुम्बिनीलाई हिन्दु पौराणिक कथामा मोक्ष नगरी मानिने बनारससँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु महत्त्वपूर्ण हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उप–प्राध्यापक सिरी बजिरले बताए ।

‘१२ ज्योर्तिरलिंगमध्ये एक काशी विश्वनाथ मन्दिर हिन्दु धर्मावलम्बीका लागि जस्तो आस्थाको केन्द्र मानिन्छ,’ उनले भने, ‘त्यस्तै लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर समस्त शान्तिकामीका लागि उत्तिकै आस्था र पवित्र छ ।' भारतमा वाराणसीलाई काशी र बनारस पनि भनिन्छ । लुम्बिनी नेपालको सबैभन्दा बढी पर्यटक भ्रमण गर्ने पर्यटकीय गन्तव्य हो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully