बाढीले हुकामको विद्युत र सडक अवरुद्ध, तातोपानीको मुहान डुबानमा

लगातारको वर्षाका कारण खोलामा आएको बाढीले गाउँपालिकाका खानेपानी, साना जलविद्युत् र सडक संरचनामा क्षति गरेपछि स्थानीय प्रभावित भएका छन् ।

असार २०, २०८३

महेश केसी

Floods disrupt electricity and roads in Hukam, inundate hot water springs

रुकुम पूर्व — पुथा उत्तरगंगा गाउँपालिकाका बिभिन्न खोलामा आएको बाढीले जलविद्युत, खानेपानी र अन्य विभिन्न संरचनामा ठूलो क्षति पुगेको छ ।

शुक्रबार दिनभरीको बर्षाका कारण खोलाहरुमा साँझपख लेदो र गेग्रानसहितको बाढी आएपछि तामागार खोला लघु जलविद्युत आयोजनाको नहर र पेल्मा जाने सडक भत्किएको छ भने वडा ६ डिम्मुरगैरामा रहेको तातेपानीको मुहान डुबानमा परेको छ । 

यहाँका तामागार खोला, नार खोला, नदु खोला, साा खोला र अधेरी खोलामा बर्खे भेल सानीभेरी नदीमा मिसिँदा सबैभन्दा ठूलो क्षति तातोपानीको मुहानमा भएको पालिका अध्यक्ष पुनीराज घर्तीले बताए । ‘त्यहाँ हामीले पालिका र प्रदेश सरकारको समेत लगानीमा तातोपानीमा नुहाउनका लागि बिभिन्न संरचना बनाएका थियौं । बाढी पसेपछि त्यसमा क्षति भयो,’ उनले भने । 

तामागार खोलाको बाढीले वडा ५ हुकामनजिकै रहेको लघु जलविद्युत आयोजनाको नहर भत्काउँदा हुकाम गाउँमा विद्युत सेवा अवरुद्ध भएको वडाध्यक्ष टीकासाई घर्तीले बताएका छन् । साथै हुकामबाट पेल्मातर्फ जोड्ने निर्माणधिन सडक भत्किँदा त्यहाँ रहेका निर्माण सामग्री समेत बगाइदिएको उनले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख डिएसपी खुमानन्द पाण्डेले क्षतिको विवरण संकलन गर्ने कार्य चलिरहेको बताए । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully