जेनजी आन्दोलन र निर्बाचनले मुद्धा फर्स्यौटमा प्रभावित

अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरि चालु आवमा रहेका ७ हजार ६ सय ४२ वटा मुद्दामध्ये अहिलेसम्म ४ हजार १ सय ९ वटा फर्स्यौट भएका छन् ।

असार १९, २०८३

माधव ढुंगाना

The Genji Movement and the Elections Affected the Settlement of Cases

What you should know

भैरहवा —  

जेन–जी आन्दोलन र निर्वाचनले रुपन्देही जिल्ला अदालतको मुद्दा फर्स्यौट प्रभावित हुन पुगेको छ । रुपन्देही जिल्ला अदालतले आव २०८२/०८३ मा लक्ष्य अनुरुपको मुद्दा फर्स्यौट गर्न नसक्ने भएको हो । 

रुपन्देही जिल्ला अदालतका अनुसार, आव २०८२/०८३ मा ६८ दशमलव ५४ प्रतिशत मुद्दा फर्स्यौट गर्ने लक्ष्य रहेकोमा असार १७ गतेसम्म मुद्दा फर्स्यौट दर ५३ दशमलव ७७ प्रतिशत छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरि चालु आवमा रहेका ७ हजार ६ सय ४२ वटा मुद्दामध्ये अहिलेसम्म ४ हजार १ सय ९ वटा फर्स्यौट भएका छन् ।

रुपन्देहीका जिल्ला न्यायधीश अशोककुमार बस्नेतले आर्थिक वर्ष सकिँदासम्म केही थप मुद्दा फर्स्यौट भइ लक्ष्यको नजिक पुगे पनि लक्ष्य भने पूरा हुन नसक्ने बताए । यसको मुख्य कारणमा जेन–जी आन्दोलनका क्रममा अदालतमा भएको क्षति र निर्वाचनका बेला न्याधीशहरु लगायत कर्मचारीहरु खटिन परेको बताए ।

‘जेन–जी आन्दोलनले सूचना प्रविधिका सफ्टवेयर लगायत धेरै उपकरण जलेर दुई महिनाजति काम नै काम नै स्थगन गर्नुपर्‍यो । म्याद तामेल गर्न पनि असहज भयो,’ रुपन्देही अदालतले संचारकर्मीहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा न्यायाधीश बस्नेतले भने, ‘निर्वाचन, मुद्दाको चाप, कर्मचारी अभाव र उपकरण तथा बजेटको अभाव पनि अर्को पक्ष हो ।’

उनका अनुसार, जेन–जी आन्दोलनका क्रममा अदालतमा १९ लाख बढीका भौतिक संरचनामा क्षति पुगेको थियो । रुपन्देही अदालतमा हाल २ वर्ष नाघेका विचारधीन मुद्दा १ सय ३४ वटा छन् । १८ महिनादेखि २ वर्षभित्रका २५० र १८ महिना भित्रका मुद्दा ३ हजार १ सय ४९ छन् । बालबालिका सम्बन्धि कुल १ सय ७६ वटा मुद्दामध्ये १ सय ८ वटा फर्स्यौट भएका छन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully