रम्भामा कोदो रोप्नेलाई प्रतिरोपनी दुई हजार अनुदान

कोदो खेतीमा निरन्तर गिरावट आएपछि स्थानीय तहले अनुदान, महोत्सव र प्रचारमार्फत रैथाने बाली जोगाउने प्रयास थालेका छन् ।

असार १८, २०८३

माधव अर्याल

Rs 2,000 subsidy per plant for those planting millet in Rambha

What you should know

पाल्पा — बसाइँसराई, युवा जनशक्तिको अभाव, सहर बसाइँ बढ्दै जाँदा रैथाने बाली कोदो उत्पादन वर्षेनि घट्दै गएको छ । 

गाउँमा जनशक्ति अभावमा कोदो लगाउँदै आएकाहरुले पनि हरेक वर्ष छोड्दै गएको रम्भा गाउँपालिका–४ हुमीनका वडाध्यक्ष कृष्णबहादुर रायमाझीले बताए । ‘प्रत्येक वर्ष बसाइँसराइ भइरहेको छ,’ उनले भने, ‘गाउँमा काम गर्ने जनशक्ति छैनन् । त्यसैले कोदो लगाउन पनि कमी हुँदै गएको छ ।’ गत वर्षदेखि हुमिनमा कोदो रोपाइँ महोत्सव गर्दै आएइको छ । प्रवर्द्धन, प्रचारप्रसार र कोदोको महत्व बुझाउन गत वर्ष हुमिनको मार्सीडाँडा र यसवर्ष लोरेङ् गाउँमा कोदो रोपाइँ महोत्सव राखेको वडाध्यक्ष रायमाझीले बताए । 

महोत्सवमा कोदोको परिकार बनाएर चखाइएको थियो । कोदो रोप्नका लागि वडाका सबै टोलबस्तीबाट सहभागिता गराइयो । ‘मुख्यगरी कोदोको प्रचारप्रसार र प्रवर्द्धन गर्ने योजना नै हो,’ गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने, ‘पालिकाले सबै किसानलाई रैथानीय बाली अन्तर्गत कोदोको महत्व बुझाएर जंकफुड बिस्थापन गर्ने योजना बनाएको छ ।’ 

पोषणयुक्त र स्वस्थकर अन्नबालीका रूपमा लिइने कोदो खेती पछिल्ला वर्षमा किसानले लगाउनै छाडेपछि अनुदानको समेत व्यवस्था गरेको उनले बताए । गाउँपालिकाले कोदो लगाउने किसानलाई प्रतिरोपनी २ हजार अनुदान दिँदै आएको छ । 

रम्भा गाउँपालिकाको फोक्सिङकोट, हुमिनलगायतका स्थानमा भने कोदो खेती परम्परादेखि गरिँदै आएको छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैसँगै अर्को बालीका रूपमा लगाउने प्रचलन पनि रहेको घर्तीले बताइन् । पहिले खाद्यान्नका लागि आटो, ढिडो, रोटीका रूपमा कोदो प्रयोग गर्ने गरेको रम्भा गाउँपालिका–४ हुमिनकै मिलन काफ्लेले बताए । 

जिल्लामा ८१ वडामध्ये ४५ बढी वडाका किसानले कोदो खेती गर्दै आएका छन् । पाल्पामा २ हजार ५ सय ३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । पाल्पामा अघिल्लो वर्ष ३ हजार ७ सय ६२ मेट्रिकटन उत्पादन भएको थियो । कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । पाल्पामा आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३ सय ६३ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो । जुन आर्थिक वर्ष २०८१/०८२ मा आएर २ हजार ३  सय ४९  हेक्टर क्षेत्रफलमा गर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामै कोदो खेती हुन्छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully