भूमि समस्या समाधान आयोग बर्दियाले बढैयाताल गाउँपालिका–४ खैरेनीका २७ भूमिहीन र २ दलित सुकुमवासीलाई ६ विघा बढी जग्गाको पुर्जा वितरण गरेको छ ।
बर्दिया — भूमि समस्या समाधान आयोग बर्दियाले बढैयाताल गाउँपालिका–४ खैरेनीका सुकुमवासी र भूमिहीन दलित परिवारलाई बिहीबार जग्गाधनी पुर्जा वितरण गरेको छ ।
आयोगका केन्द्रीय अध्यक्ष बलराम बाँस्तोला, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललगायत समितिका सदस्यले संयुक्त रुपमा २९ जनालाई पुर्जा वितरण गरेका थिए । आयोगका जिल्ला अध्यक्ष प्रजिअ गोगनबहादुर हमालले २७ जना भूमिहीन र २ जना दलित सुकुमवासीलाई लालपुर्जा वितरण गरेको बताए । २९ जनालाई वितरण गरेको ६ विघा बढी उक्त जग्गा ऐलानी भएको उनले जनाए । हकभोग गरे अनुसार बढीमा एक जनालाई ६ कठ्ठा जग्गाको पुर्जा विरण गरिएको थियो ।
यसअघि भूमि सम्बन्धी समाधान गर्न गठित आयोगमा १४ हजार बढी सुकुमवासीले जग्गा प्राप्तिका लागि आवेदन दिएका थिए । आयोगको उक्त समिति विघटन हुनुअघि ३३ हजार अव्यवस्थित बसोबासीले फारम भरेको आयोगका सदस्य डिभिजन वन कार्यालयका डिएफओ विजयराज सुवेदीले बताए ।
कुल ४७ हजार फारम भर्दा ५८ हजार घरधुरी रहेको उनले बताए । ‘यो तथ्यांकले एउटै परिवारका बाजेदेखि नातिसम्मले फारम भरेको देखिएको छ,’ उनले भने । यसअघि भूमि समस्या समाधान अयोगमा दलित सुकुमवासी, भूमिहीन सुकुमवासी, अव्यबस्थित बासोबासीले ठूलो संख्यामा निवेदन परेपछि जग्गा उपलब्ध गराउन समस्या देखिएको छ ।
