कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको संयोजकत्वमा मंगलबार चार सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
What you should know
कपिलवस्तु — कपिलवस्तु कारागारभित्र कैदीबन्दीमाथि भएको कुटपिट र दुर्व्यहार गर्नेलाई कारबाही गर्न छानबिन समिति गठन भएपछि कारागारको अवस्था सामान्य बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको संयोजकत्वमा मंगलबार चार सदस्यीय समिति बनाइएको हो । समितिले सक्दो छिटो प्रतिवेदन बुझाउने गरी काम थालेको संयोजक घिमिरेले बताए ।
सोमबार दिउँसो २ बजेबाट अशान्त बनेको कारागारको दुई नम्बर ब्लक २४ घण्टापछि मंगलबार दिउँसोबाट शान्त बनेको हो । छानबिन समिति गठन भएलगत्तै कैदीबन्दीले कारागारको ब्लक नम्बर २ को मुख्य ढोका खोलेको जेलर मानबहादुर शाहीले बताए । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनार्दन गौतमसहितका सुरक्षा अधिकारीको टोली कारागार पुगेर घटनाका दोषीलाई कारबाही गर्न छानबिन समिति बनाएपछि कारागारको अवस्था सामान्य बन्दै गएको हो ।
कैदीबन्दी नारायण वलीको समूहले चौकीदार नाइकेको टोलीले गुणस्तरहीन खाना दिने गरेको, नयाँ आउने कैदीबन्दीलाई कुटपिट गर्ने गरिएको, नयाँ आउने कैदीबन्दीसँग शुल्क उठाउने गरिएको, टेलिफोन, मोबाइलमा कुरा गर्न अत्यधिक शुल्क लिने गरिएको गुनासो गरेका छन् । त्यस्तै कारागारभित्र धाकधम्की दिने गरेको र प्यारोल सिफारिस गर्दा शुल्क लिने गरेको लगायतका १८ बटा गुनासा लिखित दिएका छन् । तिनै गुनासोमाथि टेकेर छानबिन थाल्ने संयोजक घिमिरेले बताए ।
कारागारको दुइ नम्बर ब्लकका चौकीदार दामोदर थारु र मूल नाइके केयरसिंह खत्रीसहितका समूहले कैदीबन्दी मोहम्मद हनिफ मुसलमान, सुजन विक, निरज कार्की तथा हबिबुर रहमानलाई शनिबार निर्घात कुटपिट गरेपछि विवाद बढ्दै गएको थियो । त्यसलगत्तै २ नम्बर ब्लकमा कैदीबन्दीको समूहबीच आइतबारदेखि नै विवाद सुरु भएको थियो ।
दोषीलाई कारबाही गर्नुपर्ने माग गरे पनि कारागार प्रशासनले बेवास्ता गर्दा अन्य कैबीबन्दीमाथि असुरक्षा बढेपछि आफूहरू बाध्य भई सोमबार दिउँसो २ बजेबाट ४ जनालाई नियन्त्रणमा लिई कारागारभित्रै बन्दी बनाएर राखेको २ नम्बर ब्लकका कैदीबन्दी नारायण वलीले बताए । उनले २ नम्बर ब्लकका मूल नाइके केयरसिंह खत्री, सहनाइके विजय खत्री, अर्जुन थारु र नियाज धुनियालाई भित्रै बन्धक बनाएर राखेका थिए । सह नाइके विजय खत्रीको खुट्टामा चोट लागेकाले सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलित कैदीबन्दीले आफ्ना माग सञ्चारकर्मीसँग राखेपछि मात्र प्रशासनसँग वार्ता गर्ने भनेपछि पत्रकार महासंघ अध्यक्ष डिलाराम भुसाल र उपाध्यक्ष खगप्रसाद चापागाई सोमबार राति ९ बजे कारागार पुगेका थिए । राति ९ बजे सञ्चारकर्मीको उपस्थितिमा बन्धक बनाइएका चार जनालाई उद्धार गरेर एक नम्बर ब्लकमा सारिएको थियो ।
अहिले अवस्था सामान्य रहेको र दुई नम्बर ब्लकमा प्रहरीले सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
