रोल्पाको रेउघामा १० करोडको लागतमा निर्माण भएको आधुनिक बसपार्क उद्घाटनपछि २ महिनासम्म कुनै सवारी साधन नपुगेपछि प्रयोगविहीन बनेको छ।
What you should know
रोल्पा — रोल्पा नगरपालिका-२ रेउघामा १० करोड लगानीमा बनेको आधुनिक सुविधासहितको बसपार्क प्रयोगविहीन बनेको छ । २ महिनाअघि १४ वैशाखमा धुमधामसँग बसपार्कको उद्घाटन गरिए पनि त्यसयता कुनै बस, जिपलगायत सवारी साधन पार्किङका लागि पुगेका छैनन् ।
बसपार्कमा पार्किङ क्षेत्र, कार्यालय भवन, शौचालय, टिकट काउन्टर र व्यवस्थित सडक समेत निर्माण गरिएको छ ।
नगरपालिकाका अनुसार यातायात व्यवसायीले अटेर गरेपछि बसपार्क प्रयोगविहीन बनेको हो । नगरप्रमुख सुरेन्द्र घर्तीमगरले व्यवसायीसँग पटक पटक छलफल गरेर बसपार्क उद्घाटन र हस्तान्तरण गरिएको बताए । ‘जिल्लाका ४ वटा यातायात व्यवसायीका प्रतिनिधि र पदाधिकारीसँग धेरै पटक बैठक गरिएको छ । सकारात्मक तरिकाले छलफल भएको थियो । त्यसपछि मात्रै हामीले बसपार्क प्रयोगमा ल्याउने निर्णय गरेका थियौं,’ उनले भने ।
नगरपालिकाले सदरमुकाम लिबाङ बजारमा सवारी साधन जथाभावी पार्किङ गर्ने प्रवृति बढेपछि नयाँ बसपार्क निर्माण गरेको हो ।
नगर प्रमुख घर्तीमगरले नगरपालिकाले अघि सारेको निर्णयमाथि केही दलका नेता र व्यापारीहरूले ‘स्थानीयवाद’ को नारा लगाएर वातावरण बिगारेको आरोप लगाए । ‘हाम्रो निर्णयलाई कार्यान्वयन नगराउने उद्देश्यले केही दलका स्थानीय नेताले ‘स्थानीयवाद’को नारा लगाएर व्यवसायीलाई विभाजित र प्रभावित गराउने प्रयास गरेका छन्,’ नगर प्रमुख घर्तीमगरले भने ।
रोल्पामा बसका २ वटा र जिपका पनि २ वटा यातायात प्रालि छन् । रोल्पा जलजला यातायात प्रालिले मुख्य बजारमुनि सानो पार्किङ क्षेत्र निर्माण गरेको छ । आफ्नै लगानीमा बसपार्क बनाएकाले त्यसैमा पार्किङ गर्ने गरेको छ । नगरले बनाएको बसपार्कको प्रयोग नगर्ने उक्त प्रालिका इन्चार्ज आशिष आचार्यले बताए । उनले नगरले यसमा जबरजस्ती गर्न नहुने तर्क समेत गरेका छन् ।
यस्तै नगरको निर्णयलाई स्वीकार गरेर पनि बसपार्कमा बस लैजान नमानेको आशीर्वाद यातायात प्रालिले पनि सदरमुकामै बस पार्किङ गर्दै आएको छ । उक्त प्रालिले पनि बजार क्षेत्रमै आफ्नै लगानीले बसपार्क निर्माण गर्ने योजना बनाएको अध्यक्ष निर्मल विश्वकर्माले बताए । उक्त प्रालिका गाडीहरू जिल्लाभित्रका केही सडक र दाङ, कृष्णनगर, पोखरा र काठमाडौंसम्म चल्दै आएका छन् ।
सदरमुकामदेखि भित्री गाउँमा र बाहिरी जिल्लाहरू दाङ, बुटवल, नेपालगन्जलगायतमा चल्ने साना जिपका २ प्रालि जलजला हिमाल र हिमताल यातायात प्रालिले पनि बसपार्कमा सवारी साधन लैजान मानेका छैनन् । जिल्लाभर करिब २०० सार्वजनिक सवारी साधन छन् ।
