जिल्ला ट्राफिक कार्यालयका अनुसार गत साउनदेखि जेठसम्म ५४४ दुर्घटनामा ४६ को मृत्यु र ९०८ जना घाइते भएका छन् ।
What you should know
बर्दिया — जिल्लामा गत साउनदेखि जेठसम्म ४६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । सोही अवधीमा ४ सय ५२ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले ११ महिनाको अवधिमा सामान्य घाइते ४ सय ५६ सहित ९ सय ८ जना घाइते भएको बताए । यस अवधिमा ५ सय ४४ वटा सवारी दुर्घटना भएको उनले जनाए ।
०८१/०८२ मा जिल्लामा सवारी दुर्घटनमा ३८ जनाको ज्यान गएको थियो । सोही अवधिमा ४ सय ८२ सवारी दुर्घटनामा ७५ जना गम्भीर घाइते र ६ सय ८३ सामान्य घाइते भएको प्रहरी निरीक्षक बेलबासेले बताए ।
अधिकांश दुर्घटना हुलाकी सडकमा भएका छन् । नेपालगन्जदेखि गुलरिया खण्ड ४ लेनको बनेपछि सवारी साधनले तीब्र गतिमा गुडाउँदा दुर्घटना बढ्दै गएको प्रहरीको भनाइ छ ।
महेन्द्र राजमार्ग र भित्री सडकमा दुर्घटना उत्तिकै हुने गरेको ट्राफिक प्रमुख बेलवासेले बताए । तीब्र गति, ट्राफिक नियम पालना नगर्ने, मापसे, लापसेलगायतका कारण दुर्घटना भएको पाइएको उनले बताए । ‘अनुमति पत्र नलिएर चलाएका, मापसे गरेका, ओभरलोड, तीब्र गतिलगायतका सवारी साधन कारवाहीमा परेका छन्,’ उनले भने, ‘कारवाहीमा पर्ने मदिरा र लागुऔषध सेवन गरेका अधिकांश यात्रुवाहक र मोटरसाइकललगायतका साधन छन् ।’
सडक छेउमा बस्तुभाव चराउनु, सडक अतिक्रमण, पैदल यात्रुले ट्राफिक नियमको पालना नगर्नुलगायत सडक दुर्घटनाका कारक बन्दै गएको ट्राफिक प्रहरीको भनाई छ । यसका साथै सडक संरचना, असुरक्षित सार्वजनिक सवारी साधन, चालकको अयोग्यता, लापरवाही, ट्राफिक नियमको अज्ञानता र अटेरताले दुर्घटना बढेको प्रहरीको भनाई छ ।
