सिँचाइ अभावले पाल्पामा रोपाइँ ढिला

पाल्पाका किसान सिँचाइ अभाव, गुणस्तरीय बीउ र रासायनिक मल नपाउँदा रोपाइँमा कठिनाइ भोगिरहेको गुनासाे गर्छन् ।

असार १५, २०८३

माधव अर्याल

Planting delayed in Palpa due to lack of irrigation

What you should know

पाल्पा — तानसेन नगरपालिका–९ दमकडा नमुनाबस्तीका जनार्दन बस्याल राति परेको पानीको भल छोपेर खेत रोप्न व्यस्त थिए । बीउ छिप्पिन थालेकाले उनलाई छिटै धान रोप्नुपर्ने बाध्यता छ । पानी नपर्दा यो वर्ष रोपाइँ गर्न ढिलो भएको उनले बताए । ‘आकाशे पानीकै भरोसामा खेत रोप्नुपर्छ,’ उनले भने, ‘वर्षा भएन भने त हामीलाई सकस नै हुन्छ ।’ तर अर्को समस्या धेरै पानी पर्दा भने धानको रोपो डुबाउने पनि छ । त्यसैले अघिल्ला वर्ष समयमै पानी परकाले 
असार पहिलो साता नै रोपिसक्ने गरेको उनले बताए । 

बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका दीपक ढुंगाना सिँचाइ सुविधाको अभाव, रासायनिक मल नपाइने, बीउ खोज्न पनि उस्तै सास्ती बेहोर्नुपर्ने अवस्थाले गर्दा किसानले समस्या भोगेको बताउँछन् । राम्रो बीउ नपाउँदा कहिलेकाँही दुई पटकसम्म पनि छर्नु परेको उनले सुनाए । माडीफाँटमा धान लगाउने उनले भने, ‘मेरै छिमेकीले अहिले बल्ल बीउ राख्दै छन् । पहिला छरेको आधा बीउ नै उम्रिएन ।’ किसानले रैथाने बाली र पुराना धान लगाउन छाडेपछि हाइब्रिड धानको बीउ प्रत्येक वर्ष खरिद गर्नुपर्ने उनले सुनाए । बीउ किन्दा कहिलेकाँही गुणस्तरको नपरेर नउम्रिने समस्या आउने उनले सुनाए । 

कृषि ज्ञान केन्द्रका अनुसार पाल्पामा ८ हजार २ सय १० हेक्टरमा धान खेती हुने गरेको छ । जिल्लामा ४० प्रतिशत मात्र किसानले सिँचाइ सुविधा पाएका छन् । ‘पानी परेर मुल नफुट्दासम्म खेत रोप्न पाइने अवस्था छैन,’ तानसेन नगरपालिका–९ माडीफाँटका किसान ऋषिराम खनालले भने, ‘राति पानी परे भल छोपेर रोपेपछि पछि पक्कै हरियो होला भन्ने आशा गरेको छु ।’ सिँचाइ कुलो मात्र नभई रासायनिक मलको अभाव हरेक वर्ष हुन्छ । सरकारले प्रदान गर्ने अनुदानको मलले नपुगेपछि रुपन्देही, कपिलवस्तु, नवलपरासी गएर ल्याउनुपर्ने बाध्यता छ ।   

जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइरहँदा किसान भने सिँचाइ, मल, बीउ अभावले रोपाइँ गर्न नसकेको गुनासो छ । पाल्पाकै पूर्व भेगमा बल्ल ब्याड राखिँदैछ । कतिपयले अझै ब्याडसमेत राखेका छैनन् । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नविन गैरेका अनुसार असार १२ सम्म लुम्बिनी प्रदेशमा २०.८ प्रतिशत रोपाइँ सकिएको छ । 

पानी नपर्दा अघिल्लो वर्षको तुलनामा मनसुनी वर्षा ढिला भएकाले प्रदेशमा धान रोपाइँ अघिल्लो वर्षको तुलनामा कम भएको हो । विगतमा समयमै वर्षा हुँदा अहिलेसम्म ५० प्रतिशत भन्दा बढी रोपाइँ भइसक्नुपर्ने थियो । ‘पानी ढिला परेकाले पनि यसवर्ष केही प्रतिशतले धान रोपाइँ कम भएको हो,’ उनले भने, ‘आकाशे पानीको भल छोपेर रोप्ने गरिएको छ भने तराइमा बोरिङ (स्यालो, डिप ट्युवबेल)मा पानी कम भएकाले पनि रोपाइँमा ढिलाइ भएको छ ।’ 

प्रदेशका १२ जिल्लामा धान रोपाइँ हुने ३ लाख १ हजार ६१३ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ६२ हजार ६७० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको निर्देशनालयले जनाएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully