अर्घामा पर्यटक भित्र्याउन मसुरपाटाबाट सन्धिखर्कको बजेट पारित

सन्धिखर्क नगरपालिकाले मसुरपाटा डाँडामा नगरसभा समापन गर्दै आगामी वर्षका लागि ८६ करोड ४५ लाख बजेट पारित गरेको छ ।

असार १४, २०८३

वीरेन्द्र केसी

Sandhikharka budget passed from Masurpata to attract tourists to Argha

What you should know

अर्घाखाँची — अर्घादरबारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले सन्धिखर्क नगरपालिकाले २० औं नगरसभा अधिवेशनको अन्तिम बैठक मसुरपाटा डाँडामा गरेको छ । आफ्नै सभाहलमा योजना बाँडफाँड गरेको सन्धिखर्क नगरपालिकाले सोही नगरको वडा ९ को पर्यटकीय स्थल अर्घा मसुरपाटाबाट शनिवार बेलुका नगरसभा समापन गरेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको घोषणा गरेको छ । 

असार ११ मा नगरसभा हलमा बजेट विनियोजन गरेको नगरपालिकाले अर्घामा पुगेर बजेट पारित गर्दै नगरसभा समापन गरेको हो । यो आर्थिक वर्ष २०८३/०८४ मा नगरभित्र पर्यटन सर्किट कार्यक्रम गर्ने भएको छ । जिल्लाकै ६ स्थानीय तहमध्ये सबैभन्दा धेरै र महत्वपूर्ण पर्यटकीय गन्तव्य सन्धिखर्क नगरपालिकाभित्रै रहेका छन् ।

धार्मिक आस्थाको केन्द्र अर्घादरबार र अर्घाभगवती मन्दिरको दर्शनपछि दुई किमीको दूरीमा रहेको मसुरपाटाबाट नगरसभा सकिएको घोषणा गरिएको हो । अर्घा दरबार र मसुरपाटा क्षेत्रमा जनप्रतिनिधि र कर्मचारीले थुप्रै सामाजिक सञ्जालबाट व्यापक प्रचारप्रसार गरेका छन् । 

महिला कर्मचारीले टिकटक र रिल्स बनाएर मसुरपाटा चौर र दरबारको सामाजिक सञ्जालमा राखेका छन् । मसुरपाटा ठूलो चौर छ । जहाँ दसैंको पूर्णिमाका दिन सराय जात्रा लाग्छ । त्यहाँ खेल मैदान निर्माणाधीन छ । 
‘बजेट र योजना सन्धिखर्क हलमै गर्‍र्यौं,’ प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले भने, ‘अन्तिम छलफलसहित पारित अर्घा मसुरपाटाबाट गरियो । यहाँको प्रचारप्रचार गर्न नै अर्घा गएका छौं ।’ 

पर्यटन प्रबद्र्धनका लागि नगरको मुख्य प्रवेशद्धार तथा अन्य उपयुक्त पर्यटकीय स्थलमा सन्धिखर्क झल्किने कलात्मक तथा आकर्षण थ्रिडी साइनबोर्ड राख्नको लागि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

‘सन्धिखर्क नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई पर्यटन सर्किटको रुपमा विकास गर्ने हो,’ खनालले भने, ‘धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई खाँचीकोट दरबार–सदरमुकाम सन्धिखर्क–अर्घादरबार मुसरपाटा–जंगबहादुर राणको जन्मस्थल मथुराको लामपाटी दरबार–चुत्रावेशी सिद्धेश्वर शिवालय मन्दिर–नरपानी–खाँचीकोट हिलस्टेसन–रकगार्डेनलगायतका पर्यटकीय गन्तव्यमा पर्यटकलाई भ्रमण गराउन सर्किट निर्माण गरिनेछ । योसँगै अन्य पालिकासहित सिंगो जिल्लाका पर्यटकीय गन्तव्यलाई पनि जोड्ने लक्ष्य रहेको छ । प्राकृतिक सम्पदासहित धार्मिक तथा ऐतिहासिक गन्तव्यको आआफ्नै महत्व र इतिहास रहेको छ । 

विशेषगरी सुपा देउराली आएका तीर्थालुलाई सदरमुकामसहित अर्घादरबार र अन्य स्थानमा भ्रमण गराउने लक्ष्य रहेको उनले बताए । अर्घादरबार नजिकै मसुरपाटामा पुग्नुको कारण नितान्त सामाजिक सञ्जालमा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा होस् भन्ने उद्देश्य रहेको खनाल बताउँछन् । 

अर्घादरबार मध्यकालीन शैलीमा संघ सरकारको बजेटमा पुन:निर्माण भइरहेको छ । २०७२ को भूकम्पले दरबारको भवन चर्काएको थियो । अर्घादरबार बाइसे चौबिसे राजा रहेका बेलाको राजदरबार हो । दरबार–मसुरपाटा पहाडको अग्लो थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय रहेको छ । जहाँबाट विभिन्न हिमश्रंखला देख्न सकिन्छ । लुम्बिनी प्रदेश सरकारले अर्घामा सांस्कृतिक संग्रहालय स्थापना गर्ने भएको छ ।  

नगरसभाले आगामी आर्थिक वर्षको लागि कृषि र पर्यटन उद्यमबाट स्थानीयलाई स्वरोजगार बनाइने, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार, वातावरण संरक्षण, सुशासन तथा सामाजिक विकाससहित प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाइने नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । नगर उपप्रमुख मिश्रा आचार्यले आर्थिक वर्ष २०८३/०८४ का लागि ८६ करोड ४५ लाख २५ हजार रुपैयाँको बजेट विनियोजन गरेकी थिइन् । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully