भुटान सरकारले लुम्बिनीमा निर्माण गर्न लागेको विहार शिलान्यास गर्न गृहमन्त्री लियोन्पो छिरिङ लुम्बिनी आएका हुन् ।
कपिलवस्तु — पर्यटन मन्त्री खडगराज पौडेल र भुटानी गृहमन्त्री लियोन्पो छिरिङबीचले बुद्ध जन्मस्थल लुम्बिनीमा भेटवार्ता भएको छ ।
शनिबार होटल कासाईमा भएको द्विपक्षीय वार्तामा मन्त्री पौडेलले भुटानका गृहमन्त्रीलाई भुटानको राजधानी पारोबाट भैरहवा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका छन् । पारो–भैरहवा सिधा उडान गर्ने र नसके भैरहवालाई ट्रान्जिट बनाएर बौद्धगयासम्म भए पनि हवाई सेवा सञ्चालन गर्न मन्त्री पौडेलले आग्रह गरेको वार्तामा सहभागी लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानीन राईले बताए ।
यसै गरी भुटान जाँदा नेपालीलाई तेस्रो मुलुकका नागरिकसरह सस्टेनेबल डेभलपमेन्ट फि भनेर दैनिक एक सय डलर शुल्क लिने गरेकामा भारत र बंगलादेशका नागरिकले पाउने न्यून शुल्कको सहज सुविधा दिन पनि मन्त्री पौडेलले माग गरेका थिए । भेटवार्तामा भुटानी मन्त्रीले नेपालको माग र चासोबारे भुटान सरकारसँग छलफल गर्ने बताएको वार्तामा सहभागी अर्का एक सदस्यले बताए ।
भुटानी गृहमन्त्री लियोन्पो छिरिङको नेतृत्वमा एक प्रतिनिधि मण्डल शनिबार लुम्बिनी आएको थियो । भुटान सरकारले लुम्बिनीमा निर्माण गर्न लागेको विहार शिलान्यास गर्न उक्त प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गृहमन्त्री छिरिङ लुम्बिनी आएका हुन् ।
