रेसुंगाले गर्‍यो १० उत्कृष्ट उद्यमीलाई पुरस्कृत

नम्बर १ लाई १ लाख र अन्य ९ जनालाई जनही ६० हजारका दरले पुरस्कार ।

असार १३, २०८३

सन्तोष महतारा

Resunga awards 10 outstanding entrepreneurs

What you should know

गुल्मी — रेसुंगा नगरपालिकाले उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको छ । १ सय ३७ जना उद्यमीबाट छनौट हुँदै उत्कृष्ट १० उद्यमी पुरस्कृत भएका हुन् । जसमध्ये एक नम्बर उद्यमीका रूपमा विनबहादुर कुँवर पुरस्कृत भए ।

उत्कृष्ट १ नम्बर उद्यमी नगद १ लाख रुपैयाँसहित र अन्य नौ जना जनही ६० हजार रुपैयाँसहित पुरस्कृत भएको रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए ।

विनाेद कृषि फर्मका कुँवर उत्कृष्ट भए भने अन्य नाै जना उद्यमीमा अर्जुन रेसुंगा मल्टी एग्राे एण्ड टुरिजमका भविन्द्र घर्तीमगर, रेसुंगा कृषि तथा पशुपंक्षी फर्मका केशव रजाली, लक्ष्मी लक्ष्मण कृषि फर्मका मुक्तिनाथ पन्थी क्षेत्री, गाेपाल तरकारी घुम्टी फर्मका गाेपाल नेपाली, रेसुंगा कृषि पशुपंक्षी तथा माैरीपालन फर्मका विष्णुमाया श्रीस, कृष्ण कृषि उत्पादन फर्मका कृष्णबहादुर बस्नेत, भगवती कृषि तथा पशुपंक्षी फर्मका चुराबहादुर जाेगी कुँवर, थापा व्यावसायिक तरकारी फर्मका लिलबहादुर थापा र न्यु रेसुंगा जडीबुटी प्रशाेधन केन्द्रका झविन्द्रलाल भण्डारी रहेका छन् ।

रेसुंगा नगरपालिकाभित्रका यी उद्यमी व्यवसायीलाई वृद्धिमुखी उद्यमशीलता र राेजगारी प्रवर्द्धनका लागि दायित्वसँगकाे सहकार्यमा कार्यक्रम संचालन भएको थियो ।

दायित्वकाे सहकार्यमा १ सय ८० दिन अन्तर्गतको 'मिसन राेजगारी' तीन चरण सञ्चालन भएको दायित्वका तर्फबाट कार्यक्रम संयाेजक संजय पाेखरेलले बताए । १ सय ३७ आवेदनमध्ये जम्मा ४० व्यावसायिक फर्म लाभान्वित भएका छन् । जसमा ४० उद्यमीलाई सक्षमीकरण, त्यसैबाट छनोट २० उद्यमीलाई स्तरीकरण र त्यसैबाट छनोट १० उद्यमीलाई स्तराेन्नतिअन्तर्गत पुरस्कार वितरण गरिएको हो । यस कार्यक्रमबाट तालिम, ज्ञान, सीप र प्रविधि हस्तान्तरण भएका छन् । दायित्वले पूरक साझेदारी गरी लगानी, उत्पादन, बजारीकरण र परिणाम लिने गरी राेजगारी वृद्धि गर्न सहयोग गरेको छ ।

उत्कृष्ट १ नम्बरमा पर्न सफल भएपछि व्यवसायी कुँवरले दायित्वसँगकाे सहकार्यमा नगरपालिकाले यसरी कार्यक्रम सञ्चालन गरेपछि थप जागरुक बन्न प्रेरणा मिलेको बताए । 'हामीले हाम्रो पेसा गरिरहेका थियौं, नगरले यसरी यो कार्यक्रम ल्याएपछि उत्साहित भएका छौं,' उनले भने, 'कृषि कर्ममा थप प्रेरणा मिलेको छ, अझ सशक्त भएर थप राेजगार वृद्धि गर्नेगरी लाग्नेछौं ।' उनलेे २८ वर्षदेखि ६५ राेपनी जग्गामा तरकारीजन्य खेती गरिरहेका छन् ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले राेजगारी सिर्जना गर्नुपर्छ भन्ने सबैको साझा उद्देश्य र बुझाइका कारण दायित्वसँगकाे सहकार्यमा कार्यक्रम भित्र्याएको बताए । 'व्यावसायिक उद्यमीलाई थप प्रेरित गर्न र उत्साहित पार्न यो कार्यक्रमले सहयोग गरेको छ,' उनले भने, 'उद्यमीहरू राेजगारी वृद्धि गर्ने गरी थप जागरुक बनेर लाग्नुपर्छ ।' कृषि र पशुपालनमा आत्मनिर्भर बन्न र यसैबाट राेजगारी सिर्जना गर्न यो कार्यक्रमले टेवा पुगेको छ ।

सन्तोष

Link copied successfully