पौडी खेल्ने क्रममा एक बालकको मृत्यु, अर्का बेपत्ता

रूपन्देहीको रोहिणी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ उनीहरू डुबेका थिए ।

असार १३, २०८३

माधव ढुंगाना

One child dies while swimming, another goes missing

भैरहवा — पौडी खेल्ने क्रममा नदीमा डुबेर रुपन्देहीमा एकजना बालकको मृत्यु भएको छ । अर्का बालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा रूपन्देहीको ओमसतिया गााउँपालिका-४ वसन्तपुरका ९ वर्षीय आकाश पासी र सोही ठाउँका ११ वर्षीय अरमान पठान शुक्रबार साँझ डुबेका थिए ।

खोजतलासका क्रममा शुक्रबार साँझ साढे ७ बजे नदीमा डुबिरहेको अवस्थामा फेला परेका आकाश पासीलाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा सूचना अधित्रकारी कृष्णबहादुर चन्दले बताए ।

तराई क्षेत्रमा स्थानीय समुदायले मनाउने मोहर्रम पर्वका अवसरमा शुक्रबार निकालिएको ताहाजिया मूर्ति नदीमा विर्सजन गर्ने क्रममा गएका ती बालक विसर्जन स्थलदेखि करिब ७ सय मिटर पर नदीको एकान्तमा स्थलमा पौडी खेल्न थालेका थिए ।

बेपत्ता रहेका अर्का बालक अरमानको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणरुपन्देहीबाट खटिएको गोताखोर सहितको टोली र स्थानीले खोजी कार्य जारी राखेको बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully