रोल्पामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

प्रहरीले गत बुधबार पनि यहाँ वनक्षेत्रमा लुकाई राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक बरामद गरेको थियो।

असार १३, २०८३

काशीराम डाँगी

Loaded gun found abandoned in Rolpa

रोल्पा — जिल्लाको माडी गाउँपालिका–१, भितावाङमा बेवारिसे अवस्थामा एकनाले अवैध भरुवा बन्दुक फेला परेको छ। इलाका प्रहरी कार्यालय घर्तिगाउँका अनुसार, शुक्रबार अपरान्ह सडक किनारमा झारपातले छोपी लुकाएर राखेको अवस्थामा उक्त बन्दुक फेला परेको हो।

स्थानीयबाट सूचना पाएपछि प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त हतियार बरामद गरेको हो। फेला परेको भरुवा बन्दुकलाई मुचुल्कासहित बरामद गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय घर्तिगाउँले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ पन्चकुमार बाखुले बताए । प्रहरी प्रमुखको जिम्मेवारीमा प्रनाउ बाखु आए लगत्तै लागु औषध नियन्त्रण, सुरक्षा सतर्कता र अवैध हतियारको तीव्र खोजी थालिएको हो।

प्रहरीले यस अघि पनि यहाँ दुई थान भरुवा बन्दुक फेला पारेको थियो। रोल्पा प्रहरीका अनुसार गत बुधबार दिउँसो सुनिलस्मृति गाउँपालिका- ६ गरगरेस्थित सल्लेरी पाखा सामुदायिक वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको हो। काठ र फलामबाट बनेको सिलिङ जडित एक–एक नालका ती दुई वटा भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो। 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully