सोलार पानी पोखरी बनेपछि अब वन्यजन्तुलाई बस्तीमा पानी खोज्न जानु नपर्ने र मानव-वन्यजन्तु द्वन्द्व कम हुने अपेक्षा गरिएको छ।
What you should know
नेपालगन्ज — पानीको खोजीमा वन्यजन्तु बस्तीसम्म पुग्दा हुने मानव–वन्यजन्तु द्वन्द्व साथै वन्यजन्तुमाथि आक्रमण हुने जोखिमलाई कम गर्न सोलार सिस्टमबाट वन्यजन्तुका लागि पिउने पानी व्यवस्था गरिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित सरकारद्वारा व्यवस्थित गरिएको शमसेरगन्ज–माथेवास चक्ला वनमा सोलार पम्पसहितको पानी पोखरी निर्माण गरिएको हो ।
करिब १० लाख रुपैयाँको लागतमा २ किलोवाट क्षमताको सोलारसहितको पानी पोखरी निर्माण भएको हो । डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले कम्दी जैविक मार्गमा सोलार पम्पसहितको वन्यजन्तुका लागि पानी पोखरी निर्माण कार्य बताए । ‘यो पोखरीले वन्यजन्तुको वासस्थानका साथै आगलागी नियन्त्रणमा समेत राहत पुर्याउने छ,’ उनले भने, ‘बस्तीभन्दा निकै टाढा रहेको यो पोखरी जैविक मार्ग व्यवस्थापनको नमुना अभ्यासको रुपमा रहने छ ।’
शमसेरगजन्ज–माथेवास चक्ला वनमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (ईलम परियोजना)को आर्थिक सहयोगमा ५५ मिटर बोरिङ गररेर पानी निकालिएको उनले बताए ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले लामो प्रयासपछि वनक्षेत्रमा सोलार सिस्टमबाट वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न सफल भएको बताए ।
पानीको खोजीमा वन्यजन्तुहरु सिक्टा सिँचाइको पश्चिमी मूल नहरमा जाँदा डुब्ने तथा मर्ने जस्ता घटना हुँदै आएका थिए । चोरी सिकारी गर्ने समूहले पानीमा फसेका तथा पानी पिउन नहरमा पुगेका वन्यजन्तुमाथि आक्रमण गर्ने तथा मारेर लैजाने घटना हुने गरेको वरिष्ठ वन अधिकृत सुवेदी बताउँछन् । बाँकेका त्रिशक्ति, भगवती, मधु, अशोक, जनमुखी, रामजानकी, सिद्धेश्वरी तथा जनकल्याण लगायतका सामुदायिक वनमा धेरै ठाउँमा वन्जन्तुका लागि पानीको व्यवस्थापन गर्नका लागि पोखरी निर्माण पनि गरिएको उनले बताए ।
