अधिकांश पालिकाको प्राथमिकतामा पूर्वाधार
What you should know
पाल्पा — पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सभासमक्ष बजेट प्रस्तुत गरेका छन्। अधिकांश स्थानीय तहले पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् भने केही पालिकाले कृषिलाई जोड दिएका छन्। कृषि तथा पशुपालन, युवा रोजगारलाई समेत केही पालिकाले प्राथमिकतामा राखेका छन्। वडागत बजेटका साथै विगतका अधुरा योजना पूरा गर्न अधिकांश पालिकाले बजेट विनियोजन गरेका छन्।
रामपुर नगरपालिकाले बुधबार १९औँ नगर अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट पेस गरेको हो। नगर उपप्रमुख बालकुमारी थापाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८४ करोड ९६ लाख २ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी हुन्। चालुतर्फ ६० करोड १४ लाख ३४ हजार (७०.७९ प्रतिशत) र पुँजीगततर्फ २४ करोड ८१ लाख ६८ हजार (२९.२१ प्रतिशत) बजेट विनियोजन गरिएको छ।
रामपुर नगरपालिकामा संघीय समानीकरण अनुदानतर्फ १२ करोड ३६ लाख, संघीय राजस्व बाँडफाँटतर्फ ११ करोड ४ लाख ५९ हजार, संघीय समपूरक (पुँजीगत) अनुदानतर्फ २ करोड ५९ लाख, संघीय विशेष अनुदानतर्फ ३७ करोड ११ लाख तथा संघीय सशर्त (चालु) अनुदानतर्फ ६९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, संघीय सशर्त (पुँजीगत) अनुदान ८३ लाख ८८ हजार, प्रदेश समानीकरण अनुदान १ करोड ४३ लाख ३० हजार, प्रदेश राजस्व बाँडफाँटतर्फ १ करोड २० लाख, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान १९ लाख २५ हजार र प्रदेश सशर्त (चालु) अनुदान १ करोड ३० लाख रहेको छ।
रामपुर नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ८१ करोड ३९ लाख २६ हजार ६२१ रुपैयाँमध्ये चालुतर्फ ५७ करोड ९० लाख ६८ हजार ६२१ रुपैयाँ र पुँजीगततर्फ २३ करोड ४८ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको थियो। १९औँ नगरसभाको पहिलो बैठकमा नगरप्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरवासीको आवश्यकता, अपेक्षा तथा समृद्ध रामपुर निर्माणसँगै ‘सुखी, समृद्ध, सुसंस्कृत सहर, समुन्नत रामपुर हाम्रो रहर’ भन्ने दीर्घकालीन सोचलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताए।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम दिगो विकास, सुशासन, पूर्वाधार विकास, आर्थिक समृद्धि, हरियाली प्रवर्द्धन, उत्पादनमुखी उद्यमशील नगर, रोजगारी सिर्जना तथा गुणस्तरीय सेवा प्रवाह एवं नवयुवा पुस्ता आन्दोलनको मर्म र भावनालाई प्रमुख प्राथमिकतामा राखेर तर्जुमा गरिएको नगरप्रमुख थापाले बताए।
पूर्वखोला गाउँपालिकाले ४९ करोड २० लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। चालुतर्फ ३० करोड २६ लाख ७ हजार (६१.५ प्रतिशत) र पुँजीगततर्फ १८ करोड ९४ लाख ६१ हजार (३८.५ प्रतिशत) बजेट रहेको गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले बताइन्।
पूर्वाधार विकासतर्फ १० करोड ५८ लाख, सामाजिक विकासतर्फ २२ करोड ८१ लाख, आर्थिक विकासतर्फ ३ करोड २२ लाख ८० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३१ लाख र विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। संस्थागत विकास र सेवा प्रवाहका लागि ९ करोड ९० लाख ६४ हजार रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए।
रैनादेवी छहरा गाउँपालिकाको २०औँ गाउँसभाको दोस्रो बैठकबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम पेस गरिएको छ। रैनादेवी छहराको कुल बजेट ७४ करोड ४३ लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले जानकारी दिए। चालुतर्फ ४८ करोड १३ लाख ५७ हजार र पुँजीगततर्फ ६ करोड २९ लाख ४३ हजार रुपैयाँ रहेको गाउँपालिका उपाध्यक्ष युवराज थापाले बताए। गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईका अनुसार नीति तथा कार्यक्रम असार ५ गते पेस गरिएको थियो भने बुधबार पारित गरिएको हो।
रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५४ करोड १४ लाख २९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा आयोजित गाउँसभाको २०औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष कान्ता अधिकारीले बजेट सभासमक्ष पेस गरेकी हुन्। पालिकाको नीति अनुसार कृषि, पर्यटन तथा यातायात पूर्वाधारलाई प्राथमिकतामा राखी बजेट ल्याइएको अध्यक्ष नारायणबहादुर कार्कीले बताए।
बगनासकाली गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको दोस्रो बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि ५७ करोड ८१ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट उपाध्यक्ष हरिप्रसाद पाठकले पेस गरेका हुन्। संविधानले सुनिश्चित गरेका मौलिक हक, राज्यका मार्गनिर्देशक सिद्धान्त तथा नीतिहरूको कार्यान्वयन र गाउँपालिकाको दीर्घकालीन सोचलाई मूर्त रूप दिन बजेट केन्द्रित गरिएको उपाध्यक्ष पाठकले जानकारी दिए।
रम्भा गाउँपालिकाले आगामी वर्षका लागि ५२ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालुतर्फ ३४ करोड ६ लाख ५४ हजार र पुँजीगततर्फ १८ करोड ३४ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड १३ लाख ५७ हजार २९३ रुपैयाँ बराबरको बजेट पेस गरेको छ। चालुतर्फ ४७ करोड ६३ लाख ५७ हजार र पुँजीगततर्फ २० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिए। गाउँसभाको पहिलो बैठक जेठ २९ गते बसेको र सोही बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए।
निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ६० लाख ५० हजार रुपैयाँको बजेट ल्याएको छ। चालुतर्फ ४६ करोड ६१ लाख ५० हजार र पुँजीगततर्फ २१ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बताइन्। गाउँपालिकाको प्रशासकीय भवन, केमखाम्चा मार्ग र १५ शय्याको अस्पताललाई प्राथमिकतामा राखिएको उनले बताइन्।
तिनाउ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ७१ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ। चालुतर्फ ४३ करोड १४ लाख ३३ हजार र पुँजीगततर्फ २० करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको गाउँपालिकाका लेखा अधिकृत शंकर पुरीले जानकारी दिए।
तानसेन नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ६ करोड ९४ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।
गत वर्ष नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३९ करोड ७६ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जानकारी दिइन्। १९औँ नगरसभामा आन्तरिक आयतर्फ १० करोड ८८ लाख ५५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएकामा जेठ मसान्तसम्म ५ करोड ६२ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ। आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ ९० लाख ३३ हजार रुपैयाँसहित चालु खर्चतर्फ ६८ करोड ५३ लाख ६२ हजार र पुँजीगत खर्चतर्फ ३८ करोड ४१ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
यसअघि नीति तथा कार्यक्रम नगरसभाको पहिलो बैठकमा पेस गरी सदस्यहरूको सुझावसहित पारित भइसकेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए।
