बाँकेका ८ वटै स्थानीय तहले ल्याए बजेट 

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ८३ हजारको बजेट ल्याएको छ ।

असार ११, २०८३

रुपा गहतराज

All 8 local levels of Banke have presented budgets.

What you should know

नेपालगन्ज — बाँकेका एक उपमहानगर, नगरपालिका र ६ वटा पालिका गरी ८ वटा स्थानीय तहले बजेट ल्याएका छन् ।नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ८३ हजारको बजेट ल्याएको छ ।

नगर सभाको १९ औ अधिवेशनमा मेयर प्रशान्त विष्टले उक्त बजेट प्रस्तुत गरेका हुन् । उपमेयर खाली रहेको नेपालगन्जमा यसपाली नीति तथा कार्यक्रमसँगै बजेटसमेत मेयरले प्रस्तुत गरेका छन् ।

नेपालगन्जमा सशर्त अनुदानमा संघबाट ६८ करोड ६२ लाख, समपुरकमा ५३ लाख, विशेष अनुदानमा दुई करोड ६९ लाख, प्रदेशबाट सशर्त अनुदानमा तीन करोड १४ लाख ५० हजार र समपुरकमा एक करोड ५० लाख प्राप्त भएको छ । यो रकम बाँडफाँट गर्न पाइँदैन ।

यसैबीच, मेयर विष्टले नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर, निर्माणाधीन १०८ फिटको हनुमानको मूर्तिलगायत ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई समेटेर धार्मिक पर्यटनको प्रवर्द्धन गर्न भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने बताएका छन् । उनले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका क्षेत्रलाई समेटी सद्भाव धार्मिक सर्किटको विकास गर्ने उल्लेख गरेका छन् ।

बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । यो बजेट स्वीकृत गरेसँगै नरैनापुर बाँके जिल्लामै सबैभन्दा पहिले बजेट ल्याउने स्थानीय तह बनेको छ ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा सम्पन्न गाउँसभाको २०औं अधिवेशनले आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गर्दै आगामी वर्षको विकास तथा सेवा प्रवाहको मार्गचित्र तय गरेको हो । गाउँसभामा अध्यक्ष शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे भने गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले ४९ करोड दुई लाख ८३ हजार रुपिया बराबरको बजेट पेस गरिन् ।

छलफल पछि गाउँभाले नीति, कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा अनुमोदन गरेको गाउँपालिकाका अध्यक्ष शाहले बताए । उनका अनुसार पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले विशेष गरी दलित, मुस्लिम, मधेसी, थारू लगायतका समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक सशक्तीकरणका लागि लक्षित कार्यक्रम समेटेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएसँगै गाउँसभाको २०औं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । राप्ती सोनारी गाउँपालिकाले ९२ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँसभाको १९औं अधिवेशनमा बुधबार उपाध्यक्ष मनिषा सिंह थारुले आगामी आर्थिक बर्ष २०८३/८४ का लागि ९२ करोड ४२ लाख ३९ हजार रुपैयााको अनुमानित बजेट प्रस्तुत गरिन् ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा आयोजित उक्त सभामा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटमध्ये चालूतर्फ ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ ३० करोड ७४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिँदै २ करोड ९८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, उन्नत बीउबिजन प्रयोग, पशु स्वास्थ्य सेवा तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यस्तै रोजगार प्रवर्द्धनका लागि १ करोड १ लाख ४४ हजार रुपैयाँ, वन, वातावरण, खानेपानी तथा विपद् व्यवस्थापनका लागि १ करोड २५ लाख रुपैयाँ, महिला, बालबालिका तथा समावेशीकरण कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

कुल ९ वटा वडा रहेको राप्ती सोनारीमा हरेक वडाहरुलाई समान ९५ लाख रुपैयाँका दरले विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले जानकारी दिएका छन् । बैजनाथ गाउँपालिकाले ८१ करोड बढी अनुमानित बजेट पेश गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उपाध्यक्ष निर्मला रोकायले कुल ८१ करोड ७१ लाख ४० हजार रुपैयाँ बजेट पेस गरेकी हुन् । 

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको अध्यक्षतामा सुरु भएको २० औं गाउँसभाको दोस्रो बैठकमा बुधबार उपाध्यक्ष रोकायले संघीय समानीकरणतर्फबाट १५ करोड ६७ लाख, प्रदेश सरकार समानीकरणबाट १ करोड ८ लाख ७३ हजार, संघीय सरकार सशर्त चालु रकम ३० करोड ५५ लाख, संघीय सरकार सशर्त पूँजीगत रकम ७ करोड १७ लाख, प्रदेश सरकार सशर्त चालु रकम १० लाख, प्रदेश सरकार सशर्त पूँजीगत रकम ८० लाख रुपैयाँको अनुमानित बजेट पेस गरिन् । 

प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, आर्थिक तथा कृषि विकास, पर्यटन घरेलु उद्योग तथा सहकारी, श्रम तथा रोजगार, भौतिक पूर्वाधार, वन वातावरण तथा विपद् व्यवस्थापन, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी र कानुन तथा न्याय, सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकासमा आवश्यक बजेट विनियोजन गरिएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब सात करोड ५१ लाख रुपियााको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको बुधबार सुरु भएको २० औं नगरसभा अधिवेशनमा नगरप्रमुख पूर्ण आचार्यले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । नगरप्रमुख आचार्यले नीति तथा कार्यक्रममा कोहलपुरलाई हरित सहरसँगै वातावरणमैत्री सहरका रूपमा स्थापित गर्दै भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई विशेष प्राथमिकता दिएका छन् ।

यसै गरी नगरसभामा नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले आगामी आर्थिक वर्षका लागि एक अर्ब सात करोड ५१ लाख रुपैयाँको अनुमानित आयव्यय (बजेट) प्रस्तुत गरीन् । उपप्रमुख सुवेदीले प्रस्तुत  बजेटमा आन्तरिक कर, गैरकर राजस्व र अल्यासमेत गरी २१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १९ करोड १४ लाख, सशर्त अनुदान ३१ करोड छ लाख, समपूरक अनुदान ६५ लाख र राजस्व बाँडफाँटबाट प्राप्त हुने आय १६ करोड ९१ लाख ५९ हजार रुपैयाँ रहने अनुमान छ ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ करिब ६१ प्रतिशत र पूँजीगततर्फ करिब ३९ प्रतिशत विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully