अत्यधिक गर्मी र तापक्रम बढेपछि नेपालगन्ज उपमहानगरका विद्यालयहरू पुनः बन्द

लगातार बढ्दो तापक्रम र जनस्वास्थ्यमा असर पर्ने जोखिमले नेपालगन्ज उपमहानगरले असार १० देखि १२ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

असार १०, २०८३

रुपा गहतराज

Schools in Nepalgunj sub-metropolitan area closed again due to extreme heat and rising temperatures

नेपालगन्ज —  

अत्यधिक गर्मी र तापक्रम बढेपछि नेपालगन्ज उपमहानगरले पुनः गर्मी बिदा दिएको छ । लगातारको तातो मौसमका कारण जनजीवन नै असहज बन्दै गएपछि उपमहानगरले थप तीन दिन विद्यालयहरूका लागि सार्वजनिक बिदा घोषणा गरेको हो ।

असार १० गतेदेखि १२ गतेसम्म गर्मी बिदा दिन र बिदा अवधिमा गृहकार्य दिई स्वअध्ययनको व्यवस्था मिलाउन उपमहानगरअन्तर्गतका शैक्षिक संस्थाहरूलाई उपमहानगरले अनुरोध गरेको छ ।

विद्यालय आवतजावतमा कठिनाइ उत्पन्न भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरूमा बिदा दिने निर्णय भएको नेपालगन्ज उपमहानगरका शिक्षा तथा खेलकुद महाशाखाका नगर शिक्षा अधिकृत गोर्ख बहादुर थापाले बताए ।

गर्मीको उच्च जोखिमका कारण अघिल्लो हप्ता पनि उपमहानगरसहित बाँकेका केही स्थानीय तहहरूले शैक्षिक संस्थाहरूमा गर्मी बिदा दिएका थिए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully