रोल्पा नगरपालिकाले ल्यायो ८० करोडको बजेट

बुधबार नगरको सभा हलमा आयोजित १९औँ नगरसभामा प्रस्तुत बजेटले कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ भने विकासको नयाँ खाका अघि सारिएको दाबी गरिएको छ ।

असार १०, २०८३

काशीराम डाँगी

Rolpa Municipality brings budget of Rs. 800 million

रोल्पा — रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८० करोड २५ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरको सभा हलमा आयोजित १९औँ नगरसभामा प्रस्तुत बजेटले कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ भने विकासको नयाँ खाका अघि सारिएको दाबी गरिएको छ ।

नगर उपप्रमुख गीता आचार्यद्वारा प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि आन्तरिक राजस्वबाट २ करोड ५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने अन्तर-सरकारी वित्तीय हस्तान्तरण तथा नगद मौज्दातमार्फत् ७८ करोड २० लाख ७५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगरको कुल बजेटमध्ये चालु खर्चतर्फ ८०.७४ प्रतिशत (६४ करोड ७१ लाख ९५ हजार रुपैयाँ) र पुँजीगत खर्चतर्फ १९.२६ प्रतिशत (१५ करोड ५४ लाख ५५ हजार रुपैयाँ) विनियोजन गरिएको छ ।

नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती मगरद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा 'कृषि, शिक्षा, पर्यटन र पूर्वाधार : रोल्पा नगर सुशासन र समृद्धिको आधार' भन्ने नारासहित कृषिमा आधुनिकीकरण र व्यवसायीकरण, गुणस्तरीय शिक्षा, पर्यटनको विकास गर्न पर्यटन करिडोरको विकास, सूचना प्रविधिको विस्तार, सुशासन र समावेशी विकासलाई विशेष प्राथमिकतामा राखिएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा पनि गरिएको छ । अघिल्लो आवमा नगरपालिकाले कुल ८२ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । अघिल्लो वर्षको तुलनामा आगामी आवको बजेट केही घटेको अवस्था छ । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully