बुटवल उपमहानगरको बजेट ३ अर्ब ८५ करोड

१ अर्ब ५० करोड ३८ लाख उपमहानगरको आन्तरिक स्रोत अनुमान

असार १०, २०८३

घनश्याम गौतम

Butwal Sub-metropolitan City's budget is 3.85 billion rupees

What you should know

बुटवल — बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान छ । प्रस्तावित बजेटको व्यय अनुमानअनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख, ससर्त अनुदान (चालु)तर्फ ५० करोड २५ लाख, ससर्त अनुदान (पुँजीगत)तर्फ ७ करोड ४ लाख, विशेष अनुदान (पुँजीगत)तर्फ ९० लाख र समपूरक अनुदान (पुँजीगत)तर्फ २० लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत २ करोड ३ लाख ६५ हजार, ससर्त अनुदान (चालु)तर्फ ५६ लाख ५० हजार, ससर्त अनुदान (पुँजीगत)तर्फ १ करोड ७३ लाख, समपूरक अनुदान (पुँजीगत)बापत १ करोड ५० लाख र विशेष अनुदान (पूँजीगत)तर्फ २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २०० संकलन हुने लक्ष्य राखिएको छ । यसबाहेक स्थानीय राजस्व बाँडफाँटअन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८०० प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत ४० करोड गरी जम्मा ३ अर्ब ८५ करोड आम्दानी हुने अनुमान गरिएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully