तानसेन नगरपालिकाको बजेट गत वर्षको तुलनामा ३२ करोडले घट्यो

बजेटले गरिबी न्यूनीकरण गर्दै जीवनस्तर सुधार गर्ने, सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै विकासमा साझेदार बनाउन प्रेरित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

असार ९, २०८३

माधव अर्याल

Tansen Municipality's budget decreased by Rs 320 million compared to last year

What you should know

पाल्पा — मुलुककै पुरानो तानसेन नगरपालिकामा आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ६ करोड ९४ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

गत वर्ष नगरपालिकाले २०८२/८३ का लागि १ अर्ब ३९ करोड ७६ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । तानसेन नगरपालिकाले गत आर्थिक वर्षको तुलनामा ३२ करोड ८१ लाख ४५ हजार रुपैयाँ कमको बजेट ल्याएको उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जानकारी दिइन् । 

१९ औं नगर सभामा मंगलबार बजेट प्रस्तुत गर्दै उपप्रमुख सिंजालीले आन्तरिक आयतर्फ १० करोड ८८ लाख ५५ हजार आय हुने अनुमान गरिएकामा जेठ मसान्तसम्म ५ करोड ६२ लाख ८० हजार आम्दानी भएको छ । आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ ९० लाख ३३ हजारसमेत गरी चालु खर्चतर्फ ६८ करोड ५३ लाख ६२ हजार र पुँजीगत खर्च रकम ३८ करोड ४१ लाख १२ हजार रहेको छ । 

कृषि क्षेत्रको व्यवसायीकरण, बजारीकरण, आधुनिकीकरण र पर्यटन विकासका साथै शिक्षामा गुणात्मक विकास, आय आर्जन र स्वरोजगार, पूर्वाधार विकास र पुँजी निर्माण लगायतलाई आगामी वर्षको बजेटले प्राथमिकता निर्धारण गरेको छ । गरिबी न्यूनीकरण गर्दै जीवनस्तर सुधार गर्ने, सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै विकासमा साझेदार बनाउन प्रेरित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

नगरबासीको न्यूनतम आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने, उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्ने, समाजवाद उन्मुख, आत्मनिर्भर समाज निर्माण गर्न सहयोग पुर्‍याउने, बजेट, नीति तथा कार्यक्रमलाई दिगो विकास लक्ष्यसँगै तादात्म्यता कायम गर्ने, सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउँदै वित्तीय अनुशासन र सुशासन कायम गर्ने उद्देश्य बजेटको रहेको छ । 

कृषि क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरण तथा पर्यटन विकास, सार्वजनिक सेवा प्रवाह र सुशासन, शिक्षामा गुणात्मक विकास, आय आर्जन र स्वरोजगार, पूर्वाधार विकास र पुँजी निर्माण, मानव संशाधन विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन आगामी वर्षको बजेट तर्जुमा गर्दा प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख सिंजालीले बताइन् । 

इच्छुक कृषकलाई प्रोत्साहन गर्नका लागि बाँझो जग्गामा उत्पादन निरन्तरता, कृषि व्यवसाय प्रवर्द्धन गर्न हेफर प्रोजेक्ट नेपालसँगको साझेदारी, संघीय सरकारको हस्तान्तरित कार्यक्रमअन्तर्गत माटो स्वास्थ्य सुधार कार्यक्रम प्राथमिकतामा छन् । दुग्ध उत्पादक कृषकलाई उत्पादन कार्यमा निरन्तरता दिन सहुलियत कार्यक्रमअन्तर्गत प्रतिलिटर ३ अनुदान प्रदान गर्ने भएको छ । उद्यमी व्यवसायी क्षमता विकास तालिम कार्यक्रमसमेत रहेको छ । आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रलाई बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षमा चालुखर्च तर्फ ६४.०८ प्रतिशत र पुँजीगत खर्चतर्फ ३५.९२ प्रतिशत रहेको छ ।

आन्तरिक राजस्व वृद्धि गरी आत्मनिर्भरता बढाउन र क्षमता विकास हुँदै जाने देखिएता पनि कर राजस्वको दर वृद्धिले नगरवासीमा असर पर्ने हुँदा सम्पत्ति कर, सिफारिस दस्तुर लगायतका करका दरहरू यथावत् कायम राखेको छ । आन्तरिक राजस्व सुदृढीकरणको लागि राजस्व सुधार योजना अनुरूप आयको वृद्धि गर्ने गरी राजस्वसम्बन्धी कानुन, राजस्व प्रणाली र राजस्व प्रशासनमा सुधार गर्दै लगिने उपपप्रमुख सिंजालीले जानकारी गराइन् । 

व्यवसाय कर, सम्पत्ति कर, बहाल कर आदि जस्ता करका महत्त्वपूर्ण स्रोतहरूको उपयोगका लागि अध्ययन गर्न उद्योग वाणिज्य सङ्ग तथा व्यापार संघसँग सहकार्य गर्दै कर चेतना तालिम कार्यक्रम समावेश गरिने भएको छ । आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएका योजना तथा कार्यक्रमको खर्च व्यहोर्ने आयस्रोतमध्ये संघ सरकारबाट समानीकरण अनुदानतर्फ.१५ करोड ५५ लाख, समपुरक अनुदानतर्फ ५० लाख, ससर्त अनुदान चालुतर्फ ४२ करोड ३२ लाख रहेको छ । यसैगरी पुँजीगततर्फ १ करोड २५ लाख, विशेष अनुदान १ करोड र राजस्व बाँडफाँटतर्फ ११ करोड ३० लाख ३७ हजार बजेट प्राप्त भएको जानकारी गराइएको छ । 

प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ८ लाख ८६ हजार, ससर्त अनुदान १ करोड २५ लाख २५ हजार, समपुरक अनुदान १ करोड २० लाख, राजस्व बाँडफाँटबाट १ करोड ४४ लाख ९ हजार प्राप्त प्राप्त भएको छ । आन्तरिक आयतर्फ आन्तरिक राजस्व १० करोड अनुमान गरिएको छ ।

नगर विकास कोष ४ करोड ९० लाख, जनसहभागितातर्फ १ करोड, आगामी आर्थिक वर्षका लागि सरिजाने मौज्दात १७ करोड ७६ लाख १८ हजार अनुमान गरिएको छ । आगामी बैठक असार २६ गते बस्ने र सोही बैठकमा आगामी वर्षको बजेट, विनियोजन विधेयक, लेखा समितिको प्रतिवेदन लगायतमा छलफल हुने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully