रिब्दीकोटमा ‘एक बोट, सयको नोट’ कार्यक्रममा ३७ हजार बिरुवा माग

रिब्दीकोट गाउँपालिकामा ‘एक बोट, सयको नोट’ अभियानअन्तर्गत ३ सय ८८ किसानले सुन्तला, कागती, कफीलगायतका ३७ हजारभन्दा बढी बिरुवा माग गरेका छन् ।

असार ९, २०८३

माधव अर्याल

37,000 saplings demanded in Ribdikot for 'One Plant, One Hundred-Coin Note' program

What you should know

पाल्पा — रिब्दीकोट गाउँपालिका–२ देउराली चितपानीका ८१ वर्षीय खिमानन्द पोखरेलले यसवर्ष ३ सय २५ सुन्तलाको बिरुवा रोप्ने तयारी गरेका छन् । 

बिरुवाका लागि खाल्डा खनिसकेकाले पानी पर्नासाथ लगाउन थालिएको उनले बताए । उनले अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसमलगायतका २ सय बढी बिरुवा लगाइसकेका छन् । उनले यसवर्ष भने रिब्दीकोट गाउँपालिकाको ‘एक बोट, सयको नोट’ कार्यक्रम अन्तर्गत सुन्तला लगाएका हुन् । ‘मैले पहिला तरकारी खेती गरेका थिए,’ उनले भने, ‘बँदेल, दुम्सी, खरायो, राते (मृग)ले धेरै दु:ख दिएपछि हैरानी भएर छाडिदिए ।’

दुई वर्षदेखि नै तरकारी खेती गर्न छाडेका उनले गत वर्षदेखि सुन्तला, कागती, मौसल जस्ता फलफुल लगाउन सुरु गरेको पोखरेलले बताए । पोखरेल ३५ वर्षअघिदेखि व्यवसायिक तरकारी किसान हुन् । उनले तरकारी खेती गरेरै ५० रोपनी भन्दा बढी जग्गा, घर जोडेका छन् । उमेरले पनि तरकारी खेती गर्न छाडेर फलफुल खेतीमा लागेको उनले बताए । गाउँमा बिरुवा नपाएपछि रैनादेवी छहरा गाउँपालिका–४ छहरा अमलावास पुगेर ल्याउनु परेको उनले बताए । 

रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान ढेकुलडाँडाका अनुप पोखरेलले १ हजार ८ सय कफीका बिरुवा माग गरेका छन् । उनले असार पहिलो सातासम्म १ हजार १ सय भन्दा बढी खाल्डा खनेका छन् । उनले भने, ‘जंगली जनावरको बिगबिगी भएकाले कफी लगाउँदा केही फाइदा होला कि भनेर लगाउने प्रयास गरेको छु ।’

सुन्तला र कफीका बिरुवा लगाउने केही उदाहरण मात्र हुन् । रिब्दीकोट गाउापालिकाले आठ वटै वडामा फलफुलको नमुना बगैचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम संचालन गरेको छ। 
चालु आर्थिक वर्षमा गाउँपालिकाले ‘एक बोट सयको नोट’ कार्यक्रम ल्याएपछि ३ सय ८८ जना किसानले ३७ हजार भन्दा बढी फलफुलजन्य बिरुवाको माग गरेको समुदाय परिचालनको जिम्मा पाएको ग्रामीण आर्थिक विकास संघ (रेडा) अन्तर्गत रिब्दीकोट कृषि परियोजनाका बजार विकास सहजकर्ता रामप्रसाद न्यौपानेले बताए । ‘यो कार्यक्रमले चार वर्षसम्म गाउँपालिकाको प्रत्यक्ष निगरानीमा प्राविधिक सहयोग प्रदान गर्ने भएपछि किसानमा उत्साह बढाएको छ,’ उनले भने, ‘किसानको उत्साहलाई सहयोग गर्न सहयोगी संस्थासमेत लागि परेको छ ।’ गाउँपालिकाले यो कार्यक्रमलाई ४० लाख रुपैयाँ यसवर्ष विनियोजन गरेको थियो । 

देउराली चितपानीका किसान खिमानन्दकै बारीबाट यो कार्यक्रम सुरुवातसमेत गरिएको गाउापालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । हरेक वडामा नमुना फलफूल तथा जडीबुटी बगैंचा निर्माणका लागि अभियान सुरुवात गरेको उनले बताए ।   

गाउँपालिका अध्यक्ष कार्कीले खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादनमार्फत किसानको आयआर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने बताए । गाउँपालिकाले किसानको आर्थिक भार कम गर्न चार वर्षसम्म नगद सहयोग गर्ने उनले बताए । 

अभियानमा सहभागी हुन न्यूनतम ५० वटा बिरुवा रोप्नुपर्छ । किसानलाई पहिलो वर्ष प्रतिबिरुवा एक सय रुपैयाँ, दोस्रो वर्ष ७५ रुपैयाँ, तेस्रो वर्ष ५० रुपैयाँ र चौथो वर्ष २५ रुपैयाँका दरले नगद प्रोत्साहन उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले बताए । 

कृषिलाई परम्परागत निर्वाहमुखी शैली भन्दा माथि उठाई व्यावसायिक र उत्पादनमूखी बनाउने योजना अनुसार यो कार्यक्रम सुरु गरिएको गाउापालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । उनका अनुसार स्थानीयको आर्थिक अवस्था सुधार गर्न फलफुलजन्य खेती महत्वपूर्ण हुने बताइन् । 

अभियान अन्तरगत पालिकाभित्रका ७२ वटा टोलमा करिब ४० हजार फलफूल तथा जडीबुटीका बिरुवा रोप्ने लक्ष्य राखिएको थियो । पछिल्लो माग विवरण अनुसार ८ वटै वडाका ३ सय ८८ जना किसानहरूबाट ३७ हजार भन्दा बढी बिरुवाको माग भइसकेको छ । 

बाँझो जमिनको पूर्ण सदुपयोग, फलफूल उत्पादनमा वृद्धि, पर्यावरण संरक्षण तथा ग्रामीण कृषकहरूको दिगो आम्दानी बढाउन यो कार्यक्रम ल्याएको रिब्दीकोट–२ देउरालीका वडाध्यक्ष ओमप्रसाद पोखरेलले बताए । अभियानले किसानहरुलाई दीर्घकालीन रुपमा आर्थिक फाइदा लिने वातावरण निर्माण हुने उनले बताए । 

चार वर्षसम्म प्राविधिक रेखदेख हुने भएपछि किसानमा उत्साहित छन् । बिरुवाले उत्पादन दिन सुरु नगर्दासम्म हरेक वर्ष न्यून भए पनि अनुदान दिनेगरी कार्यविधिक बनेको छ । यो कार्यक्रम महात्वकांक्षी भए पनि बाँझो जमिनको सदुपयोग गर्ने योजना गाउापालिका रहेको छ । 

गाउँपालिकाले किसानलाई भेट्ने, माटो परीक्षण गर्ने, प्राविधिक ज्ञान दिनुका साथै किसानलाई सहजीकरण गर्दै उत्प्रेरित गरेको रिब्दीकोट–५ कुसुमखोलाका किसान दिवाकर अर्यालले बताए । 
रिब्दीकोट कृषि परियोजना अन्तर्गत साझेदार संस्था हेफर नेपाल र ग्रामीण आर्थिक विकास संघ पाल्पाले सहजीकरण गरेर कार्यक्रम अघि बढेको छ ।

सबैभन्दा धेरै १८ हजार ७ सयभन्दा बढी सुन्तलाको बिरुवाको माग रहेको रिब्दीकोट गाउँपालिका कृषि शाखा प्रमुख जयबहादुर विकले बताए । ५ हजार ५ सय ६६ कागती, ६ हजार ७ सय ५५ कफी, २ हजार ६० टिमुरको विरुवा माग रहेको उनले बताए । यसबाहेक बुद्धचित्त ५ सय ५०, दालचिनी ४ सय २५, अलैंची ४ सय ५४, किवी ४ सय ७५ बिरुवाको माग रहेको छ । एभोकाडो ९ सय ८०, लिची २ सय ८०, सित्तलचिनी ५ सय २४, ओखर ७५, ड्रागन फ्रुट ३ सय माग रहेको छ । आरुबखडा २ सय ७५, अम्बा ७५, जुनार मौसम २ सय ५०,  आाप १ सय ७५ बिरुवा किसानले माग गरेका छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully